पश्चिम म्याग्दीको मालिका गाउँपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित प्रसिद्ध मालिका मन्दिरमा शनिबार भक्तजनहरुको घुइँचो लागेको छ । बुद्धजयन्ती एवं बैशाख शुक्लपूर्णिमाको अवसरमा मालिका मन्दिरमा दर्शन तथा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासका कारणले भक्तजनहरुको भीड लागेको हो ।
मालिका मन्दिरमा म्याग्दी जिल्लाको विभिन्न स्थानसहित पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी र चितवनबाट श्रद्धालु भक्तजनहरु पुगेका थिए । विगतको तुलनामा भन्दा यसवर्ष भक्तजनहरुको सङ्ख्या बढेको मालिका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष मालिका मन्दिरमा करिब ६ हजारको हाराहारीमा भक्तजनहरु आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताए ।
विशेष गरी भक्तजनहरु मालिका मन्दिरमा भाकल गर्न र पुरा भएपछि बोका तथा परेवा लिएर भाकल फर्काउन जाने गरेका छन् । यसैगरी भक्तजनहरु मनोकांक्षा पुरा हुने जनविश्वासले गर्दा हरेक वर्ष बैशाख शुक्लपूर्णिमा र कार्तिक शुक्लपूर्णिमाको दिन पारेर मालिका मन्दिरमा पुजाआजा गर्न जाने गर्दछन् । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले मालिका मन्दिरसम्म पुग्न भक्तजनहरुलाई लक्षित गरेर सडकलगायत पूर्वाधार निर्माणमा जोड दिइएको बताए ।
मालिका, कालिका र जालपा देवीको शक्ति प्राप्त हुन्छ भन्ने विश्वासका साथ १९६६ सालदेखि नियमित रुपमा पुजाआजा हुँदै आएको मालिका मन्दिरमा बालबालिकादेखि वृद्धवृद्धासम्म पुग्ने गर्दछन् । मालिका–६, दरबाङस्थित दुखुका तीर्थबहादुर रोकाले २०२५ सालमा मालिका मन्दिर बनाइदिएका थिए । मन्दिरको छेउमा रहेको ढुङ्गा अर्थात् शिलाको चुचुरोबाट पोखराको फेवाताल समेत देखिने किम्बदन्ती रहेको छ ।
समुन्द्री सतहदेखि करिब ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित मालिका धुरी र मन्दिरको आसपासका क्षेत्रबाट म्याग्दी जिल्लाको अधिकांश भू–भाग देखिनुका साथै धौलागिरी, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, गूर्जा, मानापाथीलगायत मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । बिहानको सुर्योदय र बेलुकाको सुर्यास्त अवलोकन गर्न सकिने धुरीबाट ग्रामीण वस्तीको सौन्दर्यता पनि अवलोकन गर्न पाइन्छ ।
यसैबीच म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले मालिका मन्दिरलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै बैशाख शुक्लपूर्णिमाको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा एक टोली जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मालिका मन्दिरमा पुगेको थियो ।
विगतका वर्षको तुलनामा यसवर्ष मालिका मन्दिरमा भक्तजनहरु बढ्नुमा पर्यटकीयस्थल टोडेके र मालिका गाउँपालिका–७, विम गाउँदेखि केही माथिसम्म सडक र यातायातको सहज पहुँच पु¥याउनु पनि एउटा कारण मानिएको छ ।
Previous Articleविविध कार्यक्रमसहित मनाइयो २६४३औं बुद्धजयन्ती
Next Article नेतृत्वले बुझोस