म्याग्दीको सदरमुकाम बेनीमा विविध कार्यक्रमहरुको आयोजना गरेर २६४३औं बुद्धजयन्ती मनाइएको छ । यसैक्रममा एसियाका तारा भनेर चिनिने भगवान बुद्धको उपदेश र शिक्षाको महत्व दिनप्रतिदिन बढ्दै गैरहेको म्याग्दीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले बताएका छन् ।
२६४३औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा म्याग्दी बौद्ध संघले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले नेपालमा बुद्धका शिक्षा तथा सन्देशमूलक गतिविधिमा कमी आउँदा छिमेकी देश भारतले बुद्धको जन्मभूमिका बारेमा भ्रामक प्रचारप्रसार गर्ने अवसर पाएको बताएका थिए । बुद्ध विहारमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले विश्वमा शान्तिको सन्देश फैलाउन बुद्धका उपदेश सुगन्ध ज्ञान भएको बताएका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, म्याग्दी बौद्ध संघका सल्लाहकार सुर्दशनकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बुद्ध शिक्षाको महत्वका बारेमा बोलेका थिए । म्याग्दी बौद्ध बिहारका भद्दन्त सम्यक सम्बोधि प्राणपुत्रले दिवसको महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जग्गादाता पुन्य शाक्य, लक्ष्मी शाक्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्वर्गीय बुहारी सीता बरुवाल श्रेष्ठको सम्झनामा ५५ हजार पाँचसय ५५ रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको युवा बौद्ध संघका अध्यक्ष सचिन शाक्यले जानकारी दिएका छन् । दिवसको अध्यक्षता मूल समारोह समितिका संयोजक एवं म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्य, सञ्चालन सचिव याम शाक्य र समापन थकाली बौद्ध सेवा समाजका अध्यक्ष सुन्दरमान शाक्यले गरेका थिए ।
Previous Articleबाबियाचौरमा नेकपाको पूर्ण बैठक
Next Article धार्मिकस्थल मालिका मन्दिरमा भक्तजनहरुको घुइँचो