पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले गति लिने भएको छ । आयोजनाको निर्माणकार्यको शिलान्यास भए पनि वन क्षेत्रको अनुमतिका कारण गति लिन नसकेको अवस्थामा वन क्षेत्र प्रयोग गर्न दिने निर्णयले आयोजना अघि बढ्ने भएको हो ।
गएको मङ्गलबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारले जलविद्युत आयोजनाको निर्माणकार्यलाई सहज हुने गरी वन क्षेत्र प्रयोग गर्न दिने प्रस्तावलाई अनुमोदन गरेको जनाएको छ । आयोजना क्षेत्रमा वन क्षेत्रमा आवश्यक निर्माण कार्यलाई तीव्रता दिन शिलान्यास भएलगत्तै प्रस्ताव गरिएको अवस्थामा हालै मात्र स्वीकृत भएपछि अब आयोजनाको निर्माण कार्यलाई अगाडि बढाउन सहज हुने धौलागिरी कालिका हाईड्रो लिमिटेडले जानकारी दिएको छ ।
आयोजनाका प्रवन्धक हर्कमान घर्तीमगरले आयोजना सञ्चालनका लागि वन क्षेत्र प्रयोग गर्न दिइने सरकारी निर्णयको जानकारी सञ्चारमाध्यमबाटै आफूले थाहा पाएको बताए । उनले ‘निर्धारित समयमै आयोजना सम्पन्न गर्नेगरी काम अगाडि बढेको जानकारी दिँदै आयोजनाको शिलान्यासलगत्तै जग्गा अधिग्रहण, नियमित चेकजाँच तथा टेनलसहित निर्माण कार्यलाई अगाडि बढाउने गरी आयोजनाले तयारी गरिरहेको बताएका छन् । नेपालमा वन क्षेत्रको अनुमति निकै झन्झटिलो प्रक्रियाका रुपमा रहेको हुँदा यसलाई झन्झट मानिन्छ । आयोजना क्षेत्रमा रुख कटानी तथा वातावरणीय क्षेत्रमा असर नगर्ने गरी वन क्षेत्रको प्रयोग गर्न मिल्ने भएपछि आयोजना पक्ष उत्साहित भएका छन् ।
कुल पाँच अर्ब १४ करोड रुपैयाँको लागत रहेको आयोजनामा संस्थागत पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिने आयोजनाले जानकारी दिएको छ । रन अफ दि रिभर आयोजना दरबाङदेखि दुई किलोमिटर माथि म्याग्दीखोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाइपबाट हुँदै मालिका र मंगला गाउँपालिकाको सिमानामा अवस्थित बलौटेमा रहने पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ ।
विद्युत खरिद सम्झौता (पिपिए)मा प्राधिकरणले प्रवद्र्धकसँग वर्षात्को समयमा ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति युनिट ८ रुपैयाँ ४० पैसाको दरमा पिपिए सम्झौता गरिएको छ । परियोजनाको उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के.भिए ट्रान्समिटर लाइन हुँदै डाँडाखेतको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यसअघि लामो समय निकै विवादित बनेको धौलागिरी कालिका हाईड्रोले पछिल्लो समय भने गति लिएको छ ।
हिमाली जिल्ला म्याग्दीमा जलविद्युतको क्षेत्रमा निजी क्षेत्रबाट लगानी गरिएको छ भने प्रवासी म्याग्देलीहरु पनि यस क्षेत्रमा आबद्ध भएका छन् । जिल्लाको सामाजिक क्षेत्रसँगै जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा प्रवासीहरुको लगानी भित्रिएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पछिल्लो समय हाईड्रो हवका रुपमा विकसित हुँदै गैरहेको छ ।
Previous Articleमहारानी मन्दिरलाई लायन्स क्लबको कुर्सी सहयोग
Next Article सुरक्षा व्यवस्था अपनाऔं