पर्वत जलजला गाउँपालिका–३, पर्वत बेनीमा अवस्थित न्यु होराईजन आवासीय माविमा भूकम्पको जानकारी दिन भूकम्पमापन यन्त्र जडान गरिएको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम, नेपालले स्वीजरल्यान्डको लुजान विश्वविद्यालयको सहयोगमा भूकम्पमापन यन्त्र जडान गरिएको हो ।
भूकम्पमापन यन्त्र जडान कार्यक्रमको उद्घाटन गर्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भूकम्पको जोखिम न्युनकीरणमा उपकरणको जडानसँगै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट नेपालमा यन्त्रको प्रयोगसँगै जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
स्वीजरल्यान्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका कार्यक्रमका अध्यक्ष शिव सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै आवश्यक शिक्षालाई अपेक्षा गरे अनुसार अगाडि बढाउन नसकिएको बताए । पर्वतको न्यु होराईजन आवासीय मावि, ग्रामप्रकाश मावि लेकफाँट, गुरूकुल एकेडेमी कुस्मा, गलकोट एकता आवासीय मावि बागलुङ, पश्चिम म्याग्दीको दरबाङमा अवस्थित जनप्रिय मावि र मुस्ताङको जनहित मावि जोमसोममा यन्त्र जडान गरिनेछ ।
बागलुङको गलकोटमा राखिएको यन्त्रको प्रभावकारीताले समेत थप यन्त्र जडान गरिने छ । मुस्ताङ र म्याग्दीको दुईवटा विद्यालय जडान गर्न बाँकी छ । यन्त्र जडानको अवसरमा होराईजन विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई शिक्षा दिने बताए । एउटा यन्त्र जडानका लागि एकलाख रुपैयाँ पर्छ । यन्त्र जडान कार्यक्रममा जलजला गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा अध्यक्ष भीष्म मल्ल, वडा अध्यक्ष देबेन्द्र भण्डारी, तुलसीराम रेग्मीलगायत अभिभावक, स्थानीयवासी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन होराईजनका सहायक प्रधानाध्यापक नारायण पौडेल, स्वागत प्रधानाध्यापक अर्जुन पौडेल र समापन सञ्चालक समिति अध्यक्ष दलबहादुर जिसीले गरेका थिए । यन्त्रको प्रभावकारी प्रयोग तथा भूकम्पीय शिक्षाका लागि विज्ञान, सामाजिक, कम्प्युटर शिक्षक र प्रअलाई पोखरामा बोलाएर भूकम्पसम्बन्धी आवश्यक जानकारी दिन कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको थियो ।
Previous Articleखेतबारीमा फैलिएको ३ क्वीन्टल गाँजा नष्ट
Next Article जनप्रियमा भूकम्पमापन यन्त्र जडान