पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङस्थित जनप्रिय मावि जिल्लामै पहिलो भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गर्ने विद्यालय बनेको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम, नेपालले स्वीजरल्यान्डको लुजान विश्वविद्यालयको सहयोगमा आइतबार भूकम्पमापन यन्त्र जडान गरिएको हो ।
विद्यालयमा यन्त्र जडानसँँगै भूकम्पको जोखिम, नियमित शिक्षासहित आवश्यक सतर्कताका बारेमा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । जिल्लामा धेरै भूकम्पको केन्द्रविन्दु पश्चिम म्याग्दीका विभिन्न बस्तीमा भूकम्पको पनि मापनका साथै इपिसेन्टर, दुरी, गहिराई र दुरीको म्याग्नेच्युड पनि पत्ता लगाउन यन्त्रले सहज हुने विद्यालयका प्रधानाध्यापक दिवाकर सुबेदीले जानकारी दिए ।
‘यस क्षेत्रमा भूकम्पीय शिक्षाको आवश्यकता छ, ‘भूकम्पको धक्का महशुस हुँदा समेत धेरैपछि जानकारी पाउनुपर्ने अवस्थाको अन्त्य भएको छ’ प्रअ सुवेदीले भने । उनले भूकम्पको यन्त्रको प्रयोग तथा यसका बारेमा समय समयमा अभिभावकलाई समेत शिक्षा दिने र गाउँपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयलाई समेत गाउँपालिकासँग समन्वय गरी शिक्षा दिन सकिने बताए । यन्त्रको प्रयोग गर्न विद्यालयका प्रअसहित तीन जनाले पोखरामा तालिम समेत लिएका थिए ।
यन्त्र जडान गर्दै कार्यक्रमका संयोजक शिव सुबेदीले पश्चिम म्याग्दी भूकम्पको जोखिममा रहेको बताए । उनले भूकम्पको पूर्व सङ्केत नहुने भन्दै सम्भावित क्षति र भूकम्पछि हुने क्षतिको न्युनीकरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए । उनले घरमै बसेर समेत मोबाइलको माध्यमबाट विश्वभरको भूकम्पको अवस्थालाई हेर्न सकिने बताएका छन् । यन्त्रको जडान भएपछि पश्चिम म्याग्दीसहित छिमेकी जिल्ला बागलुङ र रुकुममा भूकम्पको इपिसेन्टर, म्याग्नेच्युड लगायतका विषयमा पनि जानकारी हुनेछ । यन्त्र जडानका लागि एकलाख रुपैयाँ लाग्ने बताइएको छ ।
Previous Articleविद्यालयमा भूकम्पमापन यन्त्र जडान
Next Article घोरेपानी क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम