प्रताप बानियाँ
हालै मात्र हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा नागरिकताको प्रमाणपत्र लिनेभन्दा राहदानी लिनेहरु बढी देखिएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार नागरिकताभन्दा राहदानी लिने नागरिकहरु धेरै रहेका छन् ।
चालु आर्थिक वर्ष २०७५÷७६ को गएको साउन महिनादेखि चैतको मसान्तसम्म म्याग्दी जिल्लामा कुल ४ हजार ८ सय ७६ जनालाई राहदानीका लागि सिफारिस दिनुका साथै राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार राहदानीको द्रुत सेवातर्फ ८ सय ९२ ओटा सिफारिस गरिएको छ ।
यसैगरी राहदानीको साधारण सिफारिसतर्फ २ हजार ३ सय ८४ र एक हजार ६ सय ओटा राहदानी वितरण गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत चालु वर्षको ९ महिनाको अवधिमा २ हजार ९ सय ५१ ओटा नागरिकता वंशजको आधारमा वितरण गरिएको उनले बताएका छन् । त्यसैगरी जिल्लाको विभिन्न ११ स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा ५ सय ८० ओटा नागरिकता वितरण गरिएकोमा कार्यालयबाट एकवटा वैवाहिक अङ्गिकृतको नागरिकता पनि वितरण गरिएको छ ।
प्रशासन कार्यालय र घुम्ती शिविरबाट गरी कुल ३ हजार ५ सय ३२ ओटा नागरिकता जारी गरिएको छ । द्रुत र साधारण राहदानी सिफारिस र वितरणको अवस्थालाई हेर्दा नागरिकताको तुलनामा झण्डै १ हजार ५ सयवटा राहदानी बढी वितरण भएको तथ्याङ्कको आधारमा देखिन आएको छ । चालु आवमै जिल्ला प्रशासन कार्यालय ३६ ओटा नयाँ संस्था दर्ता गरेकोमा १ सय ५८ ओटा नवीकरण भएको सहायक प्रजिअ सुवेदीले बताए । उनका अनुसार हातहतियार नवीकरणतर्फ ११ थान नवीकरण भएका छन्भने ४ ओटा नामसारी भएका छन् । सोही अवधिमा प्रशासन कार्यालयमा ३४ वटा मुद्दाहरु दर्ता गरिएको गत आर्थिक वर्षको सहित गरेर ४१ ओटा मुद्दाको फस्र्यौट भएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार चालु आवको गत चैत महिनासम्म १० जना द्वन्द्वपीडितहरुलाई कुल दुईलाख ९७ हजार छ सय रुपैयाँ द्वन्द्वपीडित राहत रकम वितरण गरिएको छ । सो अवधिमा जिल्लाको विभिन्न स्थानमा घटेका दैवी प्रकोपका घटनामा परेका ६९ जनालाई ११ लाख ३५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । विगतको अवस्थालाई हेर्दा पछिल्लो समय पनि नागरिकता लिनेभन्दा राहदानी लिने बढ्दै गएको देखिन्छ ।
स्वदेशमा रोजगार नपाइनु, आफन्तजनहरु विदेशमै रहनु, विदेशिने रहरले च्याप्नु र नागरिकताको साथसाथै एकैपटक राहदानीको पनि फाराम भर्नुले राहदानी लिने बढी देखिएको बताइएको छ । राहदानी लिनेमा अधिकांश २० वर्षमूनिका, माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण तथा कक्षा १२ पास गरी विदेशमै अध्ययनका साथै रोजगारको खोजीमा जानेहरु रहेका छन् ।