पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानका ८ वर्षिय अभिभावकविहिन मनोज विकले आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले तीन वर्षको उमेरमा बुबाको मृत्यु भएपछि ‘टुहुरा’ बनेका विकलाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाएको हो ।
विकलाई बुद्ध एकेडेमीको कक्षा १ मा भर्ना गरिएको छ । मनोजकी आमा गोरी विक अपाङ्ग र बिरामी छिन् । आमासँगै ४ वर्षीया बहिनी मनिसा विकको समेत रेखदेख र लालनपालनको जिम्मेवारी मनोजमाथि नै थपिएपछि उनको पढाई रोकिएको थियो । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमले पहिलोपटक मनोजको अवस्थाको बारेमा विभिन्न सञ्चारमाध्यमहरुमा समाचार लेखेका थिए । उनको बारेमा समाचार आएपछि हाल मलेसियामा कार्यरत आशिष परियार (झिल्के)ले सङ्कलन गरेर पठाएको ४६ हजार रुपैयाँको चेक सञ्चारकर्मी अमित विश्वकर्मा र देविस्थानका वडा अध्यक्ष पिपला बुढामार्फत मनोजलाई उपलब्ध गराउने गरी हस्तान्तरण गरिएको छ ।
उनलाई बेनी नगरपालिका–१, रत्नेचौर अर्जम घरभई हाल मलेसियामा रहेका आशिष परियारको पहलमा ४६ हजार र बेनपा–४, सुर्केमेला घरभई हाल अमेरिकामा रहेका म्याग्दी समाज अमेरिकाका अध्यक्ष ईन्द्र थापा र उनकी धर्मपत्नी समाजसेवी सबी थापाले वार्षिक ५० हजार सहयोग गरेका छन् ।
विद्यालयको भर्ना अभियानसँगै आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष बुढाले गाउँकै विपन्न मनोजको परिवारका बारेमा समाचार प्रकाशित भएपछि परिवारकै उद्धार भएको बताइन् । विकलाई विद्यालयमा एक कार्यक्रम गरी प्रबन्ध÷निर्देशक राजकुमार थापा र प्रधानाध्यापक धुव्रसागर शर्माले स्वागत गर्दै नमुना विद्यार्थी बनाउने प्रतिबद्धता जनाएका छन् ।
कक्षा १ मा भर्ना भएका मनोजलाई नियमित पढाइसँगै अतिरिक्त कक्षाको सुविधालाई समेत प्राथमिकता दिने प्रधानध्यापक शर्माले बताए । प्रबन्ध निर्देशक थापाले मनोजलाई शिक्षासँगै खेलकुद तथा अन्य गतिविधिमा समेत अब्बल बनाउने प्रतिबद्धता जनाउँदै भविष्यमा पनि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालयले स्वागत गर्ने बताए । मनोजको आफ्नै नाममा गरिमा विकास बैंकमा खातामा जम्मा भएको आर्थिकलाई शैक्षिक गतिविधिका साथै आमाको नियमित उपचार, लत्ताकपडा, घरखर्च लगायतमा खर्च गरिने आफन्तको भनाइ छ ।
Previous Articleमहिलाहरुलाई उद्घोषण तथा भाषणकला तालिम प्रदान
Next Article बालिका शक्ति परियोजनाबारे अन्तत्र्रिmया