म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित नेप्टेचौरमा सञ्चालित उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका–९, को वडा कार्यालयको आर्थिक सहयोग र वडास्तरीय महिला सञ्जाल घतानको आयोजनामा महिलाहरुलाई लक्षित गरेर उद्घोषण तथा भाषणकला तालिम आयोजना गरिएको थियो ।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि नगरपालिका तथा वडा कार्यालयमार्फत तालिम चलाइएको बताइन् । उनले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै सामाजिक परिवर्तन र रुपान्तरणका लागि महिलाहरु अगाडि बढ्नुपर्ने बताएकी छिन् ।
वडा अध्यक्ष बेलबहादुर चोखालले महिलाहरु समाजको नेतृत्व तहमा पुग्नुपर्ने बताउँदै वडा कार्यालयबाट आफूले सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका प्रमुख सरिता गौतम, तालिमका प्रशिक्षक एवं सञ्चारिक समूह गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं पत्रकार जमुना वर्षा शर्मा, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका सञ्चालिका रिना दिदी र सहभागी विष्णु बानियाँ कार्कीले मन्तव्य राखेका थिए ।
घतानमा क्रियाशिल सबै आमा समूहका ५० जनाभन्दा बढी महिलाहरुले सहभागिता जनाएको उद्घोषण तथा भाषणकला तालिमको पत्रकार जमुना वर्षाले सहजीकरण गरेकी थिइन् । तीन दिनसम्म चलेको तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास लगायतका विभिन्न विषयहरुमा सहजीकरण गरिएको आयोजकले जनाएको छ । नगर कार्यपालिका सदस्य गोरी दर्जी र वडा सदस्य मैना कार्कीको उपस्थित रहेको तालिमको समापन वडास्तरीय महिला सञ्जाल घतानका अध्यक्ष रश्मी बानियाँ खड्काको अध्यक्षता र सचिव अमिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article१४ स्वर्ण जित्दै आर्मीलाई उसुको उपाधि
Next Article मनोजले पाए उच्च शिक्षासम्मको अभिभावक