म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालले हाइड्रोसिलका बिरामीहरुको आज मङ्गलबारदेखि निःशुल्क अप्रेसन सुरु गर्ने भएको छ । विगत तीन वर्षदेखि हाईड्रोसिलको अप्रेसन सेवा दिँदै आएको बेनी अस्पतालले मङ्गलबारदेखि उक्त अप्रेसन सेवालाई निःशुल्क रुपमा नै दिने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताएका छन् ।
यसभन्दा अघि लाग्ने हाईड्रोसिलको अप्रेसन शुल्क दुई हजार पाँचसय, हाईड्रोसिलका बिरामीलाई आवश्यक पर्ने औषधी, भर्ना शुल्क समेत निःशुल्क रुपमा उपलब्ध गराइने कटुवालले बताए । ‘हाम्रो पहल र मन्त्री नरदेवी पुनको सक्रियतामा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट बजेटको व्यवस्था गराई बिरामीहरुको सुविधाका लागि निःशुल्क उपचारको व्यवस्था मिलाईएको हो’ अध्यक्ष कटुवालले भने ।
गएको असोजमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर आएपछि अस्पताल व्यवस्थापन तथा अन्य सुधार गर्न थालेका कटुवालकै पहलमा एन्टीरेविज भ्याक्सिन पनि निःशुल्क उपलब्ध गराइएको छ । उनकै पहलम संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयलाई पहल गरी निर्माण कार्य थालनी भएर रोकिएको भवन निर्माण कार्यलाई समेत तीव्रता दिएको जानकारी दिए ।
चन्द्रकुमार केसी अध्यक्ष रहेको समयमा बेनी अस्पताल विकास गुरुयोजना निर्माण गरी बजेट व्यवस्थापन तथा टेण्डर प्रक्रिया समेत भएको थियो । उक्त आयोजनाको भवन निर्माणका लागि शिलान्यास माधवप्रसाद रेग्मी अध्यक्ष रहेको समय भएकोमा बिचमा आएर ठेकेदारले काम रोकेको थियो । अलपत्र अवस्थामा रहेको निर्माण आयोजनालाई गति दिने काम भएको छ ।