लामो रस्साकस्सी अनि लामै प्रयासपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताले जिल्ला तहसम्मको पूर्णता पाएको छ । तत्कालीन एमाले र माओवादीबीच भएको पार्टी एकतापछि अहिले देशका ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसर पारेर लगाएको छ । काठमाडौंमा भएको एक कार्यक्रमका बिच पार्टी एकताको सबै प्रक्रिया टुङ्गिएको औपचारिक घोषणा गरिएको छ । टुङ्गिएको पार्टी एकताको प्रक्रिया अनुसार अध्यक्षमा ४५ जिल्ला पूर्व एमाले र बाँकी ३२ जिल्ला पूर्व माओवादीको भागमा परेको छ । यससँगै अब जिल्ला तहसम्मको सबै पार्टीको एकता सकिएको छ । अब जनवर्गीय सङ्गठनहरुको एकता भएपछि पार्टीको सबै तह र तप्काको समेत टुङ्गो लाग्ने नेकपाले जनाएसँगै सरकारको नेतृत्वसम्म गरेको पार्टीको अब भने केही हदसम्म भए पनि पार्टी पङति चलायमान हुने देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसर पारेर भएको कार्यक्रममा नेकपाले आफ्नो ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेपछि अहिलेको अवस्थामा पार्टीको कार्यक्रमहरु सुस्ताएको नेकपामा अब भने सक्रियताका साथ पार्टी अगाडि बढ्न सक्ने सम्भावना देखिएको छ । कुनै पनि क्षेत्रमा जब नेतृत्वको टुङ्गो हुँदैन तब त्यसमा कामले गति लिने सम्भावना निकै न्युन हुन्छ । त्यसैले अहिलेसम्म पर्ख र हेरको अवस्थाम रहेको नेकपाले अबको दिनमा गतिका साथ जनताको काम गर्दै आफू पहिलो शक्ति भएको यथार्थ जनतालाई आभाष दिलाउन आवश्यक छ । कुनै पनि हालतमा जनताको पक्षमा काम गर्नुको विकल्प कुनै पनि राजनैतिक दलहरुलाई हुँदैन । तर, अहिलेको नेकपा राज्यकै नेतृत्व गरी रहेको वर्तमान अवस्थामा यसले गर्ने जति पनि काम सरकारकै काम हुने भएकाले आफूलाई स्वच्छ तबरले जनताको पक्षपाती भएको देखाउन जरुरी छ ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७०औं वर्षगाँठ मनाइरहँदा अहिले धेरैको मनमा एउटै कुरा पक्कै खेलेको छ । ४ सिटदेखि दुई तिहाई अनि टुटफुट र प्रतिबन्धको अवस्थामा जकडिँदै आएको नेपाल कम्युनिष्ट पार्टीभित्र अहिले पनि एउटा खेमा प्रतिबन्धकै अवस्थामा रहेको छ । केपी ओली नेतृत्वको नेकपा सरकारको नेतृत्व गरिरहेको वर्तमान अवस्थामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भने प्रतिबन्धको अवस्थामा छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना र अहिलेसम्मको अवस्थामा दर्जनौं टुक्रामा विभाजित भएका कम्युनिष्टलाई एउटै सुत्रमा बाँधेर अगाडि बढ्नु नै अबको नेकपाको अर्जुनदृष्टि हुनुपर्छ ।
Previous Articleहाईड्रोसिलको निःशुल्क अप्रेसन बेनीमै
Next Article रुप्से दैनिक ! ०८ वैशाख २०७६