बागलुङ, १४ कात्तिक – कात्तिक कृष्ण औँसीका दिन आइतबार धनधान्यकी देवी लक्ष्मीको स्तुति गरेर मनाइँदैछ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता छ ।
ज्योतिष डा. सुनिल सिटौलाका अनुसार वृष लग्नमा साँझ ६ः११ बजेदेखि ८ः०७ बजेसम्म र सिंह लग्नमा राति १२ः४२ बजेदेखि बिहान २ः५८ बजेसम्म प्रदोशकाल रहेको छ । सूर्य अस्ताएपछिको दुई घन्टा २४ मिनेटसम्म स्थिर लग्न रहेको छ भने आइतबार ५ः१७ बजे काठमाडौँमा सूर्यास्त हुनेछ ।
डा. सिटौलाका अनुसार अँध्यारो स्थानमा दीपावली गर्दा यो दिन लक्ष्मी प्रसन्न भई धनधान्यपूर्ण बनाउँछिन् । यो दिन कुनै नराम्रो कार्य गर्दा वर्षैभरि पिर्ने योग रहेको दिन पनि हो । यसै दिन गाईलाई लक्ष्मी मानेर गाईपूजा गर्ने र जनैपूर्णिमाका दिन हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर मृत्युपछि बैतरणी तर्ने मनोकाङ्क्षा राखिन्छ ।
महाशिवरात्रि, कृष्णजन्माष्टमीको मोहरात्रि, बडा दसैँको कालरात्रि र लक्ष्मीपूजाको सुखरात्रि गरी यी चार रात्रिको निकै महिमा छ । यसै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन परेकाले यो दिन स्वदेश तथा विदेशमा लक्ष्मीजयन्ती पनि मनाइन्छ ।
Previous Articleनेताहरुले कसरी कसरी मनाउँदै छन् तिहार
Next Article मानिसका ९ बानी, जसले उमेर नपुगी बृद्ध बनाउँछ