विगत केही दिनदेखि देशैभर परेको वर्षासँगै आएको असिना पानीले म्याग्दीमा लाखौं मुल्य बराबरको अन्नबालीमा क्षति पुगेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीका कारण तरकारी, अन्नबाली र फलफूल खेती नष्ट भएको हो ।
वर्षाले वडा कार्यालयबाट पर्यटकीयस्थल झाँक्रपानीसहित विभिन्न बस्ती जोड्ने ग्रामीण सडक समेत प्रभावित भएको स्वास्थ्यचौकीका अहेव बबरजंग पालले जानकारी दिएका छन् । ‘खेतभरी हिउँजस्तै सेताम्मे असिनाले अन्नबाली सखाप पारेको छ, खानेपानी र सडकमा समेत क्षति पुगेको छ’ उनले टेलिफोनमा भने । उनका अनुसार बराङ्जाको ग्रामीण सडकलाई वर्षाले वर्षातको समयको जस्तै हिलाम्मे बनाएको छ । साथै सडक आसपासका क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै गाउँमा ल्याउन प्रयोग गरिएका खानेपानीका पाइपमा पनि क्षति पुगेको छ ।
दैनिकजसो असिना–पानी र हावाहुरीले तरकारी तथा गहुँबाली नष्ट भएको मंगला–४, बराङ्जाका वडा अध्यक्ष ओमबहादुर रोकाले बताए । उनले क्षतिको विवरण सङ्कलन जारीरहेको बताउँदै तत्काल सडक र खानेपानी नियमित बनाउने प्रयास गरिएको बताएका छन् । यता गाउँपालिकाले असिनापानीका कारण अस्तव्यस्त भएका क्षेत्रमा सडक र खानेपानीसहित स्थानीयलाई सहज आवतजावत हुनेगरी काम गर्ने जनाएको छ ।
केही दिनयता हिउँद भरीको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा परेको असिना पानीले नष्ट गरेपछि जिल्लाका अधिकांश क्षेत्रमा करोडौंको अन्नबालीमा क्षति पुगेको छ । जिल्लाको बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले पुरै नष्ट गरेपछि कृषकले क्षतिको मूल्याङ्कन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग समेत गरेका छन् । केही समय अघि पनि मध्यरातमा परेको असिना र पानी बेनी नगरपालिका–२, खबरास्थित किसानले लगाएको लाखौंको तरकारी बाली नष्ट गरेको थियो ।
Previous Articleकिन हेलिप्याड
Next Article पर्यटकीयस्थल चिनाउने अभियानमा म्याग्दी जेसीज