म्याग्दी र बागलुङको सिमानामा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गामा म्याग्दी जेसीजले शनिबार बोर्ड अनावरण गरेको छ । बेनी नगरपालिका–३, र बागलुङको काठेखोला गाउँपालिका–३, धम्जाको शिरमा अवस्थित बेलढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावनालाई मध्यनजर गरी जेसीजले भ्रमणसहित आयोजित कार्यक्रमको बेनपा–३, का वडा अध्यक्ष पदम पुनले बोर्डको अनावरण गर्दै सुन्दर गन्तव्यको रुपमा विकास गर्ने प्रयासमा सघाउन अनुरोध गरे ।
बेलढुङ्गाबाट म्याग्दीका अधिकांश भूभागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भू–भाग देखिने भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बताए । उनले स्थानीयस्तरबाट प्रचारप्रसारसहित न्यूनतम पूर्वाधार विस्तारको प्रयास भए पनि प्रयाप्त नभएको बताए । बेलढुंगामा पुग्नु अगाडि धार्मिकस्थल स्वर्गाश्रम, तपस्यास्थल, प्राचीनकालीन अवस्थामा निर्मित पोखरी, विश्रामस्थलहरू समेत अवलोकन गर्न सकिने भएकाले पनि स्थानीयको अभियानमा सघाउने प्रयास गरिएको म्याग्दी जेसीजका अध्यक्ष खम थापाले बताएका छन् । उनले नेतृत्व र व्यक्तित्व विकासँगै जिल्लाको पर्यटनसहित विभिन्न अभियानमा समेत सघाउने बताए ।
बेलढुङ्गा आसपासको क्षेत्रबाट धौलागिरी, गूर्जा, चुरेन, निलगिरीलगायत दर्जन हिमश्रृङ्खला, लालीगुराँसको घना जङ्गल, वन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्यहरू देखिन्छन् । जङ्गलको बिचमा रहेको अग्लो ढुङ्गासम्म पुगेपछि त्यहाँ करिब ३० जना बस्न मिल्ने ठाउँ समेत रहेको छ । गोलो आकारको ढुङ्गाको माथिल्लो भागमा बसेर मिनी वनभोजको समेत आयोजना गर्न सकिने भएकाले पनि यहाँको प्रचारप्रसार गर्नुपर्ने नेपाल जेसीजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले बताए ।
बेलढुङ्गा आसपासका क्षेत्रमा प्राचीनकालमा तपस्या गर्ने गएका सप्तऋषिहरुले तपस्या गर्ने क्रममा ठूला पत्थरमा बनाएको बाटो हुँदै पुगिने उक्त ठाउँलाई सप्तऋषि बेलढुङ्गा समेत भन्ने गरिन्छ । हरेक वर्षको बैशाख १ गते स्वर्गाश्रममा हुने पुजा समेत गर्ने गरिन्छ । म्याग्दी जेसीजले जिल्लाका विभिन्न पर्यकीयस्थलमा बोर्ड अनावरणसहित भ्रमणको निम्तो समेत दिने गरेको छ ।
Previous Articleअसिनापानीले अन्नबाली नष्ट, सडक–खानेपानी अवरुद्ध
Next Article विद्यालयका ७ शिक्षिका एकैपटक गर्भवती