नेपालमा अधिकारको कुरा गर्ने तर आफ्नो कर्तव्य बोधको कमिले गर्दा निकै समस्या हुने गरेको छ । जब मानिसले आफ्नो कर्तव्यका लागि सोच्दैन उसले अधिकार मात्र फलाकेर केही पनि हुदैन । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आफ्नो अगुवाइमा जिल्लाका प्रत्येक वडामा हेलिप्याड निर्माण गर्नु पर्ने कदम चाले र त्यो पुरा पनि गरि छाडे । यसले के देखायो भने प्राकृतिक रुपमा भिरालो अनि स–साना कान्ला र गराहरुबाट बनेको नेपाली पहाडी क्षेत्रमा सामन्यतया हेलिकोप्टर ल्याण्ड गर्नका लागि पनि निकै समस्या छ । प्राकृतिक प्रकोपबाट तत्काल उद्धार गर्न अनि जटिल स्वास्थ्य समस्या भएका बिरामीहरुलाई उपचारका लागि लैजान पर्ने अवस्थामा देशभर निकै शास्ती हुने गरेकोले उनले चालेको यो कदम हेर्दा सामान्य लाग्ला तर कुनै समयमा भने त्यसले निकै ठूलो महत्व राख्छ ।
हिमताल फुटेर भएका धनजनको क्षती होस या बाडी पहिरोका कारण भएको क्षति अनि त्यस क्षेत्रमा उद्धार गर्नका लागि हेलिकोप्टर ल्याण्ड गर्न नसकेर भएको सास्तीलाई मध्येनजर गर्दै बनाइएको हेलिप्याडले म्याग्दी जिल्लाका ४५ वटै वडामा अब केही हद सम्म भए पनि सहज भने पक्कै हुनेछ । म्याग्दीका बिकट गुर्जा, मुदि, चिमखोला, कुइनेमंगले, मल्कवाङ लगायतका क्षेत्रबाट तत्काल सवारी साधनबाट कुनै पनि विपत्तीमा उद्धार गर्न कठिन हुने भएकाले हेलिप्याडले सहज बनाउने छ । हुन त कुनै पनि स्थानमा बिपत्ती हुनु हुँदैन अनि सबै मानिस स्वस्थ्य अनि व्यस्त रहुन् । तर हामीले चाहेको सँधै हुन्छ भन्ने पक्कै पनि छैन । बारा र पर्साका जनताले अहिले हुरीबतास भूमरी सहित आओस भन्ने पक्कै पनि चाहेका होइनन् तर आइछाड्यो । तराइको क्षेत्र भएकोले राहत र उद्धारमा सहजता भएको हो । तर त्यही समस्या पहाडी क्षेत्रमा भएको भए निकै सास्ती हुने थियो ।
अहिले म्याग्दीबाट थालिएको हेलिप्याड निर्माणलाई नेपालको सबै पहाडी तथा हिमाली जिल्लाहरुमा विस्तार गर्न आवश्यक छ । हेर्दा सामान्य लागे पनि हेलिप्याडले मृत्युको मुखमा पुगेका नागरिकलाई बचाउनका लागि निकै ठूलो पहलकदमी सावित हुन्छ नै । म्याग्दीको विभिन्न स्थानमा पहिरोले धनजनको क्षती भएको समयमा हेलिकोप्टर ल्याण्ड गर्न नसकेको कारणले गर्दा उद्धार तथा राहतमा समस्या भएको विगतलाई स्मरण गर्दै अहिले हेलिप्याड निर्माण गरीएको हो । त्यसैले अब कोही पनि नागरिकले अकालमै ज्यान गुमाउन नपरोस भन्नका लागि हेलिप्याड निर्माणलाई प्रत्येक वडाले आफ्नो एजेण्डाकै रुपमा पनि अगाडी बढाउन आवश्यक छ ।
Previous Articleमहोत्सवको सन्देश
Next Article असिनापानीले अन्नबाली नष्ट, सडक–खानेपानी अवरुद्ध