म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि जिल्लास्तरीय स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले राज्यले स्वास्थ्यका क्षेत्रमा धेरै बजेट तथा कार्यक्रमहरु ल्याएको हुँदा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले स्वस्थ रहन तथा बच्चालाई कुपोषण हुनबाट बचाउनका लागि शारिरीक व्यायाम, सन्तुलित भोजन र सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउँदै बजारको खाद्यवस्तु भन्दा गाउँको अर्गानिक खाना उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर केसीले सुआहारामार्फत जिल्लामा सञ्चालित पोषणसम्बन्धी कार्यक्रमहरुबाट परिणाम आउनुपर्नेमा जोड दिँदै समन्वय समितिको तर्फदेखि आवश्यक सहयोग उपलब्ध गराइने बताएका थिए । कार्यक्रममा बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरे र स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रमको उद्घाटनसत्र जिसस सदस्य केसीको अध्यक्षता, मिलन म्याग्दीका अध्यक्ष विनय श्रेष्ठको स्वागत र कार्यकारी निर्देशक दिवाकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यशाला गोष्ठीको पहिलो दिन सुआहारा कार्यक्रमका संयोजक चिरञ्जीवी दाहालले नेपालमा कुपोषणको अवस्था, सुआहारा दोस्रो कार्यक्रमका गतिविधिहरु, भन्छिन् आमा रेडियो कार्यक्रम, सुआहारा दोस्रोले प्रवद्र्धन गरेका १० वटा मुख्य व्यवहारहरु लगायतका विषयमा सहजीकरण गरेका थिए । यसैगरी कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजकहरुले स्वास्थ्यसम्बन्धी गतिविधिहरु प्रस्तुत गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा स्थानीय तहका उपप्रमुखहरु, स्वास्थ्य संयोजक तथा सहसंयोजकहरु, स्वास्थ्यकर्मी, मिलन र सुआहाराका पदाधिकारी तथा कर्मचारी लगायतको सहभागिता रहेको छ ।
Previous Articleविश्व हिन्दू महासंघको वडा समिति
Next Article छन्त्यालको उपचारमा बहराईनबाट सहयोग