आउँदो २०७६ जेठको पहिलो हप्ता म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको तयारीलाई तिब्र पारिएको शुक्रवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला उसु संघका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागीताको लागि गण्डकी प्रदेशभित्र रहेका ११ वटै जिल्लाहरुबाट खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिता थाउलुतर्फ तीन इभेन्ट र सान्सौ तर्फ महिला र पुरुष दुबैको विभिन्न तौल सुमहको गरी कुल ७४ वटा पदकमा खेलाडिहरुले प्रतिस्पर्धा गर्नेछन् ।
महिला र पुरुष दुबै तर्फ स्वर्ण १०/१०, रजत १०/१० र कास्य १७/१७ पदकमा प्रतिस्पर्धा हुने जिल्ला उसु संघ म्याग्दीका का.वा. अध्यक्ष बास्कुनेले बताए । प्रतियोगितामा प्रथमलाई नगद रु १५ हजार, दोश्रोलाई रु १० हजार, तेश्रोलाइ रु ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यसैगरि महिला र पुरुष दुबै तर्फ उत्कृष्ट फाइटर र स्कोरर १/१ जना तथा उदयमान १ जना खेलाडीलाई १ हजारका दरले पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालनको लागि रु १७ लाख ६१ हजार खर्च हुने अनुमान गरिएको छ ।
यस प्रतियोगिताले गण्डकी प्रदेशभित्र रहेका उसु खेलाडीहरुको प्रतिस्पर्धाबाट खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । उनले जिल्लामा उसु तर्फ पहिलो पटक आयोजना हुने लागेको प्रदेश स्तरको प्रतियोगिताले यस क्षेत्रको खेल विकास संगै पर्यटन प्रवद्र्धनमा समेत सघाउ पु¥याउने बताए । साथै उनले खेलकुदे बोलेर भन्दा पनि गरेरै सहयोग देखाउने प्रतिवद्धता जाहेर गरेका थिए ।