नेपालमा पटकपटक आन्दोलनको भूमरिमा जनता पिल्सीदै आएका छन् । १०४ वर्षे राणा शासनको अन्त्यका लागि शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले थालेको आन्दोलनको बलमा २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र स्थापना भए पनि तत्कालिन अवस्थामा राजनैतिक दलहरुको गैर जिम्मेवारी पनका कारण नै प्रजातन्त्र बन्दी बन्यो र शुरु भयो पुनः पञ्चायती व्यवस्था । तत्कालिन अवस्थामा वि.पि. कोइरालाको नेतृत्वको सरकारलाई राजा महेन्द्रले हटाइ दिए अनि शुरु भयो पञ्चायती व्यवस्था । त्यो व्यवस्था किन भयो भनेर अहिले भनि रहनै पर्दैन । किन भने कुनै पनि राजनैतिक कार्यक्रममा नेपाली कांग्रेसका नेताले त्यो घटनाक्रम छुटाउँदैनन् । त्यस बेलाको घटनालाई अहिले सम्म पनि कांग्रेसले कण्ठस्त गरेको छ र राजालाई आरोप नलगाइ छाड्दैन ।
तराइ पहाड तथा हिमाली क्षेत्र नभएर समग्र नेपालमा पनि धेरै आन्दोलन भए । तर त्यस्ता आन्दोलनले देशकै मुहार फर्ने तर्फ लाग्थ्यो भने अहिले क्षेत्रीयताका लागि हुने आन्दोलनहरुले विखण्डन हुन सक्ने सम्भावना रहन्छ । तराइमा सिके राउत अहिले मुल धारको राजनीतिमा आएसँगै नेत्र विक्रम चन्द बिप्लबको नेतृत्वको नेकपाको आन्दोलनले देशलाई त्रसित बनाउन थालेको छ । चन्दा आतंक अनि बम बिष्फोट लगायतका घटनाले जनतालाई आतंकीत बनाउन थाले पछि सरकारले उसको गतिबिधिलाई प्रतिवन्ध लगायो । सरकारले आपराधिक गतिबिधि प्रतिबन्ध लगाएको भएपनि खुल्ला राजनीतिमा आउनका लागि प्रतिवन्ध भने लगाएको पक्कै पनि होइन । सञ्चार माध्यमको रिपिटर टावरमा विष्फोट गराउने तथा चन्दा आतंक अनि धम्की जस्ता गतिविधिलाई प्रतिवन्ध लागाउनका लागि सरकार तयार भएको हो तर उसले राजनैतिक दल दर्ता गरेर अगाडी आउन चाहेको खण्डमा भने प्रतिवन्ध होइन ।
ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नेत्रविक्रम चन्द विप्लबको नेतृत्वको समूहले गराएको बम बिस्फोट यता नेकपा विप्लव समूहका एक सय ८४ नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उसका कार्यकर्तालाई ४४ जिल्लाबाट गिरफ्तार गरेको छ भने सबै भन्दा धेरै २२ जना काठमाडौ महानगरीय प्रहरीले गरेको छ । हाल सम्म सिन्धुपाल्चोकबाट १७, ललितपुरबाट १०, इलामबाट ८, तनहुँबाट १२, अछामबाट ५, सप्तरीबाट ४, सर्लाहीबाट ३, सल्यानबाट ४, सुनसरीबाट ४, सोलुखुम्बुबाट ४, उदयपुरबाट २, कपिलवस्तुबबाट ३, चितवनबाट ७, कालिकोटबाट ३, कास्कीबाट ९, डोल्पाबाट २, बाराबाट ४, भोजुरबाट २ जना पक्राउ परेका छन् । भने दाङबाट ३, म्याग्दीबाट ६, रामेछापबाट २, धनकुटाबाट ३, रुकुम पश्चिमबाट २, नवलपरासी पश्चिमबाट २, नवलपरासी पूर्वबाट २, रुपन्देहीबाट ४, रोल्पाबाट ३, रौतहटबाट २, पर्साबाट ४, लमजुङबाट २, पाँचथरबाट २, प्यूठानबाट ३, बाँकेबाट ६, संखुवासाबाट ३, मकवानपुरबाट २ र गोरखा, झापा, गुल्मी, कैलाली, धादिङ, तेह्रथुम, मोरङ र नुवाकोटबाट एक÷एक जना पक्राउ परेका प्रहरीले जनाएको छ । उक्त समूहको बम बिष्फोटबाट एक जनाको ज्यान गए पछि सरकार आक्रामक बनेको छ भने मृत्यु हुनेलाई क्षतिपुर्ति नै दिने भन्दै बिप्लब समूहले घटनाको जिम्मा लिएकोले उसको आपराधीक गतिविधिलाई नियन्त्रणमा लिने प्रयासमा सरकार लागेको हो । तर हत्या हिंसा अनि आतंकबाट उपलब्धी केही कतै पनि नहुने भएकाले शान्तिका लागि सबैले हातेमालो गर्न जरुरी छ ।