नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको अगुवाइमा सोमबार बसेको सञ्चारमाध्यम र पत्रकारका संघसंस्थाहरुको संयुक्त भेलाले पत्रकार र सञ्चार क्षेत्रमाथि लगाइएको लाञ्छनाबारे ध्यानाकर्ष भएको जनाएको छ । केही दिनदेखि सामाजिक सञ्जालमा म्याग्दीका नदीजन्य सामग्रीको उपयोग सम्बन्धमा विभिन्न टिकाटिप्पणी हुँदै आएको सन्दर्भमा अचानक मिडियालाई मुछेर आफ्नो प्रभावमा पार्ने उद्देश्य अनुरुप विभिन्न लाञ्छना लगाइएकोप्रति म्याग्दीमा क्रियाशील सम्पूर्ण मिडियाकर्मीहरुको ध्यानाकर्षण भएको हो ।
महासंघ म्याग्दी शाखामार्फत जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा आउने अन्तर्वस्तुका बारेमा धेरै गलफत्ती गर्नु आवश्यक छैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हुँदाहुँदै पनि कानुन निर्माण गर्ने र विद्यमान कानुन कार्यान्वयन गर्ने तहसम्म पुगेका जिम्मेवार व्यक्तिहरुले नै आफ्नो पदीय जिम्मेवारी चटक्कै बिर्सेर सञ्चारकर्मीबाट जबर्जस्त भूमिकाको अपेक्षा गर्नु आफैमा उदेकलाग्दो विषय हो । भनी उल्लेख गरिएको छ ।
महासंघका सचिव गोरखनाथ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफूले प्राप्त गरेको साधनस्रोत, सीप र सूचनाको स्रोतसम्मको पहुँचको सीमाका बाबजूद सञ्चारकर्मीहरुले आफ्नो कार्यसम्पादन गरिरहेको सर्वविदितै छ । कुनै पनि घटनाप्रतिको दृष्टिकोण पत्रकार आफैले बनाउने नभई सम्बन्धित क्षेत्रको विज्ञ, आधिकारिक व्यक्ति र स्रोतविना समाचार लेख्नुहुँदैन र लेखिँदैन भन्ने पत्रकारिताको सामान्य आचारसंहिता भित्रको विषय हो ।’
यसमा हामी विश्वस्त र अडिग रहँदै यस्ता विषयमा वातावरणीय दृष्टिकोण र निजी सम्पत्तिमाथिको अधिकारका कोणबाट बोल्ने व्यक्ति, स्रोत वा निकाय मुखरित भएमा मिडियाले समाचार बनाउन हिच्किचाउँदैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं । त्यसैले पत्रकारिताको मर्यादाभित्र रही आफ्नो कार्यसम्पादन गरिरहेका पत्रकारलाई आधारहीन ढङ्गबाट लाञ्छना लगाउनु उपयुक्त होइन भन्ने हाम्रो बुझाई छ ।
Previous Articleकुन कलाकारले कति पढेका छन्
Next Article दहतालको संरक्षण कहिले र कसले गर्ने ?