पर्यटकीय सम्भावना बोकेको फेवाताल जस्तै देखिने म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जाको दहताल प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको छ । बराङ्जा गाउँको मध्य भागमा अवस्थित दहतालले पर्यटक भिœयाउन सक्ने भएर पनि पूर्वाधार विकास पाउन सकेको छैन ।
दहतालको संरक्षणमा स्थानीयले प्रयास गरेपनि आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने योजना बन्न नसक्दा सुन्दरता दहमै सीमित भएको छ । बराङ्जाको ‘सानो फेवाताल’को नामले समेत चिनिने दहतालको संरक्षणमा स्थानीयले सरकारी अनुदान, जनश्रमदानबाट तारबार लगाएका छन् भने ताल आसपासमा सरसफाइसहित पुजाआजा गर्ने गरेका छन् । ताल निकै आकर्षक र मनमोहक भएको हुँदा काठको डुङ्गा सञ्चालनलगायत अन्य योजनाहरु बनाउन सकिन्छ ।
ताल आसपासको क्षेत्रमा रहेको व्यक्तिको जग्गालाई लिएर साइकलमा शयर गर्ने जस्ता तालभित्र रहेको मन्दिरको मर्मतसहित सेल्फी सेन्टर अर्थात् फोटो खिच्ने स्थानलगायत थुप्रै योजना बनाए पनि बजेटको अभावले अलपत्र परेको दहताल संरक्षण समितिका अध्यक्ष कुलबहादुर थापाले गुनासो गरेका छन् । उनले तालमा पौडी खेल्न मिल्ने सफा पानी भए पनि प्रयोगमा ल्याउन नसकिएको बताउँदै पशु चौपायालाई तालमा बस्नबाट रोक लगाइने बताएका छन् । मौसम सफा हुँदा बिहानीपख ताल टलक्क टल्किने भएकाले पनि डुङ्गामा सयर गरेर रमाउनेहरुलाई आकर्षण गर्न सकिने सम्भावना रहेको छ ।
तालभित्र अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षणको रुपमा रहेको स्थानीयवासिन्दा बताउँछन् । तालमा रहेको बराह मन्दिरलाई पोखराको फेवातालमा रहेको बराह देवताको भाइको रुपमा समेत चिनिन्छ । ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा दहताल धार्मिक पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने बराङ्जा घुम्न गएका म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष एवं म्याग्दी भ्रमण वर्षका अभियन्ता राजेश शाक्यले बताए । बेनी नगरपालिका हुँदै पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका जोड्ने गरी सडक सञ्जालको छायाँ समेत नपर्ने स्थानलाई समेटेर पदमार्ग निर्माणका लागि पहल गरिएको उनले जानकारी दिए ।
प्रत्येक वर्षको बालाचतुर्दशी र शिवरात्रीका दिन ताल नजिकै रहेको शिवालय मन्दिरमा भक्तजनको निकै ठूलो भीड लाग्ने गर्दछ । दहताल करिब पाँचसय वर्गमिटर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको छ । मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले तालको संरक्षणका लागि प्रतिबद्ध रहेको बताउँदै गाउँपालिकाले आन्तरिक तथा प्रदेश र संघीय सरकारमार्फत बजेटका लागि प्रयास गरिरहेको बताए । बराङ्जा भित्रका अन्य पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत लक्षित गरी पर्यटन प्रवद्र्धनसहितको अभियान सञ्चालन गरिने उनले जानकारी दिए । उनले गाउँपालिका भित्रका पाँचवटै वडामा ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसारलाई प्राथमिकता दिने गरी गुरुयोजना पनि बनाएको बताएका छन् ।