जापानको नागोयामा नवजात शिशुलाई जन्म दिएर मृत्यु भएकी एक युवतीको आफन्तलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय समिति नागोया जापानले आर्थिक सहयोग गरेको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३, पिप्ले घरभई रोजगारीको सिलसिलामा नागोयामा रहेकी प्रमिला दर्जीको मृत्यु भएपछि नवजात शिशुको पालनपोषण तथा शिक्षादिक्षाका लागि जापानमा रहेका म्याग्देलीले सुरु गरेको अभियान अन्तरगत नागोयामा बसोबास गर्ने म्याग्देलीले सङ्कलन गरेको ८९ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
ब्रेन ट्यूमरबाट पीडित प्रमिलाले बच्चालाई जन्म दिएको एक सातामै मृत्यु भएपछि नवजात छोरी प्रसिद्धीलाई आवश्यक पर्ने गरी खर्च गर्न मोना क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी मगर, कोषाध्यक्ष रामबहादुर किसान र सदस्य टेकप्रसाद पौडेलले दिनेशकी आमा गुमा र बहिनी सपनालाई हस्तान्तरण गरेका थिए । ‘अस्पतालमा एक सुत्केरी चेलीलाई गुमाउनुपरेको पीडा अझै ताजै छ, ब्रेन टयूमरको अन्तिम स्टेजमा पुगेको जानकारी पाएपछि सहयोग जुटाउन सुरु गरेका थियौं’ समितिका अध्यक्ष चोचाङ्गीले भने । उनले प्रमिलाको मृत्यु भएपछि परिवारले स्वदेशमै ल्याएपछि पालनपोषणमा सहज हुनेगरी मोना जापान तथा क्षेत्रीय समितिले सहयोग सङ्कलन गरेको बताए ।
मोना जापानले प्रसिद्धीको नाममा गरिमा विकास बैंकका खाता खोलेर मुद्धतिमा रकम जम्मा गरेको छ । गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएपछि मोना जापान नागोयाको टोलीले उपचारसहित अस्पतालमै समेत सहयोग गरेको थियो । चिकित्सकसंग परामर्शका साथै आर्थिक सहयोग जुटाउन म्याग्देलीले गरेको प्रयासलाई शिशुका आफन्तले धन्यवाद समेत दिएका थिए ।
Previous Articleस्वस्थ जीवनका लागि योग: मन्त्री पुन
Next Article कुन कलाकारले कति पढेका छन्