काठमाडौं, १४ कात्तिक – शान्ति प्रकृया सुरु भएपछिको एकदशक निकै आकर्षक मानिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय पछिल्लो समय भने निष्प्रभावी भन्दै गएको छ ।
माओवादी द्वन्द्वले क्षति पु-याएका सार्वजनिक पूर्वाधारको पुनर्निर्माण, माओवादी लडाकुको व्यवस्थापन र दुई पटकको संविधानसभा निर्वाचनसम्म ठूलो बजेटका कारण आकर्षक मन्त्रालयको रुपमा रहे पनि अहिले भने यो मन्त्रालयकै औचित्यमाथि प्रश्न उठ्न थालेको छ ।
प्रशासन सुधार आयोग (२०७०) को प्रतिवेदनले खारेज गर्ने सूचीमा राखेपछि शान्ति मन्त्रालय निजामती कर्मचारीको आकर्षणमा समेत पर्न छाडेको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव देवबहादुर अधिकारी मन्त्रालय ओझेलमा पर्दै गएको स्वीकार्छन् ।
मन्त्रालयमातहतको नेपाल शान्ति कोषका कार्यक्रमहरु चालू आवदेखि समाप्त हुँदैछन् । कोषमा पछिल्लो समय सिर्जनशील र नवीन कार्यक्रमहरु नभएको उनले बताए । २०६३ साल माघमा स्थापित कोषले यसपछिका करिब पाँचबर्ष उल्लेख्य काम गरेको थियो ।
हाल भने अर्थ मन्त्रालयबाट बार्षिक बजेट कटौति हुनु र नयाँ कार्यक्रमहरु बनाउन पनि कोषले चासो नराख्दा समस्या देखिएको हो । कोषमा निर्देशकहरु आउने र जाने क्रम चलिरहेको छ । कार्यक्रमै नभएपछि उनीहरु केही महिनामै अन्यत्रै सरुवा भएर जाने गरेका छन् ।
शान्ति कोषलाई भविष्यमा कसरी अघि बढाउने भन्नेमा सरकार र राजनीतिक दलमा योजना छैन । कोषको बजेट गत आवमा अर्ब रहेकोमा चालू आवको लागि ४० करोड रुपैयाँ मात्रै छ । यसको अर्थ काम सकियो भन्ने बुझ्न सकिने कोषका एक कर्मचारी बताउँछन् ।
स्थापनाको करिब ९ बर्षमा नेपाल शान्ति कोषले ७२ वटा आयोजनाहरुको लागि करिब २४ अर्ब रुपैयाँ आर्थिक तथा प्राविधिक सहायता परिचालन गरेको छ । चार क्लस्टरका ती कार्यक्रमलाई २३ अर्ब ४० करोड ३ लाख ४३ हजार रुपैयाँ र प्राविधिक समन्वय पुल कोषको लागि ९ करोड ४ लाख १३ हजार रुपैयाँ खर्चिएको छ ।
Previous Articleकहाँ पुग्यो मध्यपहाडी राजमार्गमा नयाँ सहर बनाउने योजना
Next Article एमालेको अभियानले वडा तहमा गति लिदै