म्याग्दीको बेनी नगरपालिका–९, घतान र उत्तरी रघुगंगा गाउँपालिका–३, राखुपिप्लेको मौवाफाँटको एक अर्काको सीधा सम्पर्क अबदेखि झोलुङ्गे पुलको माध्यमबाट हुने भएको छ । जिल्लाको दुई स्थानीय तह जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ३ घण्टाको बाटो १५ मिनेटमै छोटिएको हो ।
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र बेनपाको घतान जोड्न झोलुङ्गे पुल निर्माण भएपछि भीर, वनजङ्गल, खोल्साखोल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको पुल निर्माणको अगुवाई गरेका नेकपाका जिल्ला नेता बालकृष्ण सुवेदीले जानकारी दिए । द्रुत गतिमै पुलको काम सम्पन्न भएको हुँदा दुवै क्षेत्रका स्थानीयका साथै पर्यटकलाई समेत आकर्षित गर्न सकिने उनले बताएका छन् ।
पुलको निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहलको सम्भावनालाई मध्यनजर गरी थप पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । नेता सुवेदीको सक्रियतामा पुलको निर्माण नेपाल सरकारको कुल ५९ लाख रुपैयाँको लागतमा सम्पन्न भएको जनाइएको छ । वर्षाैंदेखि दुवै क्षेत्रका बासिन्दाले पशु चौपयाको चरन क्षेत्रको रुपमा समेत प्रयोग गर्ने गरेका थिए । पुलको कुल १ सय २५ मिटर लम्बाई रहेको छ ।
पुलको निर्माणसँगै बेनी नगरपालिका घतानसहित तोरीपानी लगायतका क्षेत्रबाट सवारीसाधनमा घुमेर आवतजावत गर्नुभन्दा पनि स्थानीयलाई पदैलयात्राबाटै रघुगंगा गापाको पिप्ले, मौवाफाँटका साथै रघुगंगा गापाकै झीँ, पाखापानी क्षेत्रमा जाने स्थानीयले समेत प्रयोग गर्ने काउलेगौंडाका स्थानीय युवा तेजेन्द्र बानियाँले बताए । पुल निर्माण भएपछि स्थानीयवासी अवलोकनका लागि जान थालेका छन् ।
जिल्लामा पछिल्लो समय लामो दुरीका झोलुङ्गे पुलको निर्माणले प्राथमिकता पाएको छ । एक वस्तीबाट अर्को बस्ती जोड्ने पुलले स्थानीयको यात्राको दुरी छोटिनुका साथै पर्यटनको क्षेत्रमा पनि सघाउने बताइएको छ । पछिल्लो समय म्याग्दी जिल्लाको विभिन्न स्थानहरुमा झोलुङ्गे पुलको निर्माणले पूर्णता पाउँदै जान थालेको छ । यसअघि रघुगंगा गाउँपालिका–१, बेगखोलास्थित बेग र बाँदुक गाउँ जोड्नका लागि पुल निर्माण गरिसकिएको छ । बेग–बाँदुक जोड्ने पुल बनेपछि अहिले पुल हेर्न जाने आन्तरिक पर्यटकहरु बढेका छन् ।
Previous Articleसुन्दरताको खानी ओखरबोटको ‘सोलेडाँडा’ पूर्वाधारलाई पर्खिरहेको छ
Next Article कुस्मा नगरपालिकामा अनलाइन सेवा