प्रताप बानियाँ
सिरसिर बतास चलिरहने ठाउँ । पहाडको उच्च र सम्म परेको भू–भाग । वरिपरी घना वनजङ्गलले घेरिएको । चराचुरुङ्गीको चिरबिर–चिरबिर आवाज सुन्न पाइने । पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ ओझेलमा परेको छ । पर्यटकीयस्थल भए पनि ओखरबोटको सोलेडाँडा ओझेलमा पर्न गएको हो ।
प्रशस्तै मात्रामा पर्यटकीय सम्भावना भएर पनि ओखरबोटको सोलेडाँडा पूर्वाधार विकासको पर्खाइमा रहेको छ । पहाडको उच्च भागमा अवस्थित म्याग्दी जिल्ला र छिमेकी बागलुङ जिल्लाको सिमानामा पर्ने पर्यटकीयस्थल सोलेडाँडाले वर्षौंदेखि विकासका पूर्वाधारहरुलाई पर्खिरहेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटमा पर्ने पर्यटकीयस्थल सोलेडाँडा पर्याप्त सम्भावना हुँदाहुँदै पनि पूर्वाधार विकास नहुँदा ओझेलमा पर्दै जान थालेको हो ।
सोलेडाँडासम्म सडकको पहुँच पुगेपनि अन्य पूर्वाधारहरुको विकास नहुँदा पर्यटकीय क्षेत्र सोलेडाँडाले अभाव झेल्दै आइरहेको छ । म्याग्दीको रुम, ओखरबोट र बागलुङको पश्चिमी तमान, लाम्मेला क्षेत्रमा फैलिएको सोलेडाँडामा सडक विस्तारसँगै आन्तरिक पर्यटकको गन्तव्य बने पनि आवश्यक पूर्वाधारको अभावमा समस्या भएको छ । सोलेडाँडामा सडक विस्तार भए पनि विकासका अन्य पूर्वाधारहरु बन्न सकेका छैनन् ।
ओखरबोट गाउँको शिरमा पर्ने सोलेडाँडा बागलुङको तमानखोला गाउँपालिकासँग जोडिएको छ । सोलेडाँडामा पछिल्लोपटक आन्तरिक पर्यटकको चहलपहल बढेको ओखरबोटका स्थानीय नन्दबहादुर घर्तीमगरले बताउँदै यसको विकासका लागि दुवै जिल्लाका सरोकारवालाले ध्यान दिनुपर्ने माग गर्नुभयो । म्याग्दी सदरमुकाम बेनीबाट यातायातमार्फत एकै दिनमा सोलेडाँडा पुग्न सकिन्छ । म्याग्दीका चर्चित लोकगायक खड्ग गर्बुजाले ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई……. भन्ने बोलको गीत गाएर चिनाएको भए पनि पर्यटकीयस्थल सोलेडाँडामा अझै आवश्यक पूर्वाधारहरु बनेका छैनन् । सोलेडाँडा घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गए पनि त्यहाँ बस्नका लागि उचित ठाउँ नहुँदा समस्या हुने गरेको छ ।
पर्यटकीयस्थल सोलेडाँडा पुग्ने स्वदेशी र विदेशी पर्यटकहरुका लागि पूर्वाधारको आवश्यक परेको छ । जिल्ला बाहिरबाट सडकमार्ग भएर आउने पर्यटकहरुका लागि सोलेडाँडामा व्यवस्थित खानेपानी, शौचालय, टेन्ट लगायतका आवश्यक पूर्वाधारहरुको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । यसैगरी खाने बस्नका लागि होटल, लज र रेष्टुरेन्ट समेत निर्माण गर्नुपर्नेछ । पिक्नीक स्पटका लागि पनि उपयुक्त ठाउँ रहेको छ ।
म्याग्दीको पश्चिमी भेगसहित बागलुङको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने तमान, खुङ्खानी, बुङ्गादोभान र खुङ्गालगायत क्षेत्रका बासिन्दाले आफ्नो जिल्लाको सदरमुकाम बागलुङ पुग्न सोलेडाँडाको बाटो प्रयोग गर्दै आइरहेका छन् । बागलुङको पश्चिमी क्षेत्र ढोरपाटन, बुर्तिबाङ र तमानखोलाका स्थानीयवासी बागलुङ जानका लागि सोलेडाँडा भएर जाने गरेका छन् । उनीहरु बागलुङ जानका लागि सोलेडाँडाको बाटो छोटो हुनेहुँदा म्याग्दी भएर जाने गर्दछन् । ढोरपाटन जाने विदेशी पर्यटकहरु पनि म्याग्दीको पश्चिमी क्षेत्र हुँदै सोलेडाँडा भएर ढोरपाटन र रुकुम जाने गरेका छन् । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा अवस्थित सोलेडाँडा सडक सञ्जालसँग जोडिएपछि बागलुङको विकट क्षेत्रका बासिन्दाले समेत तीनदिन लगाएर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
सोलेडाँडा सुन्दरताको खानीः
पर्यटकीय क्षेत्र ओखरबोटको सोलेडाँडा सुन्दरताको खानीका रुपमा चिनिन्छ । सोलेडाँडाबाट आसपासका जङ्गलमा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँस, प्राकृतिक सुन्दरताको साथै धौलागिरि, गूर्जा, चुरेन, अन्नपूर्ण, निलगिरी, माछापुच्छे«लगायत आधा दर्जन हिमशृङ्खलाहरु देख्न सकिन्छ । सोलेडाँडामा चैत, वैशाखमा राताम्मे लालीगुराँस र पुस, माघमा सेताम्मे हिमालहरु देख्न पाइन्छ । यसैगरी लालीगुराँसको फुल समातेर हिमाललाई पृष्ठभूमीमा पारेर सेल्फी खिचेर रमाउन सकिन्छ । सोलेडाँडामा पुग्ने आन्तरिक पर्यटकहरु नजिकै रहेको गाँडाखसुङ तालमा पनि पुग्ने गरेका छन् ।
जडिबुटी र वन्यजन्तु पाइनेः
सोलेडाँडामा सुन्दरतासँगै पर्याप्त मात्रामा जडिबुटीहरु पाइन्छन् भने विभिन्न वन्यजन्तुहरु समेत भेटिन्छन् । यस क्षेत्रको वनजङ्गलमा सतुवा, निरमसी, तीतेलगायत महत्वपूर्ण जडिबुटीहरु पाइन्छ । त्यस्तै भुङ, खस्रुङ, गुराँस र गोब्रेसल्लाका रुखहरु सोलेडाँडाको वनजङ्गमा रहेका छन् । गुराँसको दारबाट बनेका ठेकामा राखेको दही र मोही खानका लागि एकदमै मीठो मानिन्छ । यो क्षेत्रमा रतुवा, मृग, बाघ, स्याल, चिर कालीज जस्ता बन्यजन्तु जनावर र पशुपंक्षीहरुको बासस्थान रहेको स्थानीयवासी बताउँछन् ।
सोलेडाँडामा हिउँ खेल्न पाइनेः
पर्यटकीयस्थल सोलेडाँडामा पुस माघको महिनामा हिउँ परिरहने हुँदा त्यहाँ पुगेर हिउँ खेल्न पाइन्छ । हिउँसँग रमाएर आनन्द लिँदै मोबाइलमा सेल्फी खिचेर रमाउन सकिने सोलेको डाँडाबाट वरिपरीको दृश्यहरु निकै आकर्षक र मनमोहक देखिन्छ । यसपटकको समयमा हिमाली क्षेत्रमा तीनचार पटकसम्म परेको हिउँ अझै पग्लिसकेको छैन । सोलेडाँडा पुग्ने सडकको दायाँबाया हिउँले ढपक्कै ढाकेको छ । सम्म परेको सोलेडाँडाको पाखामा रहेको हिउँको सिरकमाथि बसेर फोटो र भिडियो खिच्न सकिन्छ । दुई दिनको पैदलयात्रा सडक विस्तारसँगै चार घन्टामा सीमित भएपछि पश्चिम म्याग्दीका दरबाङ, देविस्थान, निस्कोट, रुमका विद्यालयबाट शिक्षक, विद्यार्थीहरु शैक्षिक भ्रमण तथा वनभोजका लागि सोलेडाँडा पुग्ने गरेका छन् ।
पर्यटकीय गन्तव्य बनाउनुपर्ने मागः
ओखरबोट र तमानखोला गाउँका स्थानीयवासिन्दाले पर्यटकीयस्थल सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने माग गरेका छन् । स्वर्गद्वारी पुग्न सजिलो र छोटो दूरीको मार्गका रुपमा समेत चिनिने सोलेडाँडालाई उनीहरुले पर्यटकीय गन्तव्य रुपमा विकास गर्नुपर्ने माग गरेका हुन् । होमस्टे, भ्युटावरलगायत पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधार बनाउन दुवै जिल्लाबाट लगानीको आवश्यकता रहेको तमानखोला गाउँपालिका–१, बागलुङका लालबहादुर रोकाको भनाइ छ । सोलेडाँडा पुग्ने सडक विस्तारका साथै मर्मतसम्भार गर्ने गरिएको बताउँदै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन गरिने बताउनुभयो ।
सुन्दरताको खानी ओखरबोटको ‘सोलेडाँडा’ पूर्वाधारलाई पर्खिरहेको छ
Previous Article‘माया पिरीम’बोलको पहिलो गीत सार्वजनिक
Next Article घतान–मौवाफाँट अब १५ मिनेटमै वारपार