म्याग्दीको मंगला गाउँपालिका–३ बराङ्जामा हेलिप्याड निर्माण भएको छ । ‘एक वडा एक हेलिप्याड’ निर्माणको अभियानलाई तिब्रता दिएको गाउँपालिकाले महेन्द्ररत्न माध्यमिक विद्यालयको प्राङ्गणमा गाउँपालिकाको आर्थिक तथा सशस्त्र प्रहरीको प्राविधिक सहयोगमा निर्माण हेलिप्याड निर्माण गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाँले जानकारी दिए ।
आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्को समयमा आवश्यकता अनुसार राहत उपलब्ध गराउन सहज हुनेगरी गाउँपालिकाले यसअघि कुहुँ र हिदीमा निर्माण गरिसकेको छ । बराङ्जासहित ३ वटा वडामा हेलिप्याड निर्माणकार्य सम्पन्न गरेको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताइन् । हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य गरिएको उनको भनाइ छ ।
सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाइतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सुरू गरेपछि वडास्तरमै नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई समेत सहज हुने गरी हेलिप्याड बनाइएको उपाध्यक्ष केसीले बताइन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रजिअ लीलाधर अधिकारीसहितको टोलीले स्थलगत रुपमै पुगेर अनुगमनसहित प्राविधिक सहयोगले समेत बाँकी वडामा हेलिप्याड निर्माण सम्पन्न गरिने बताएकी छिन् ।
बराङ्जामा निर्माण गरिएको हेलिप्याडले वडा नं ३ र ४ का बासिन्दालाई सहज हुनेछ । हालसम्म मालिका गाउँपालिकाले सबै ७ ओटै वडामा हेलिप्याड बनाएको छ भने अन्य गाउँपालिकाले समेत वडैपिच्छे हेलिप्याड बनाउने प्रतिबद्धता जनाएका छन् । जिल्लाको धवलागिरी, रघुगंगा गाउँपालिकाका केही वडामा अझे सडक सञ्जाल पुग्न सकेको अवस्थामा आकस्मिक उद्धारका लागि हेलिकप्टरको आवश्यकता रहेको छ ।
Previous Articleहिउँ नपग्लिँदा गूर्जामा खाद्यान्न अभाव
Next Article गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्श