गएको फागुन १४ र १५ गते परेको भारी हिमपात अहिलेसम्म नपग्लिँदा हिमाली क्षेत्र गूर्जामा खाद्यान्न अभाव भएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–१, मा पर्ने अति विकट तथा दुर्गम गाउँ गूर्जा जोड्ने पैदलमार्गमा हिउँ नपग्लिँदा खाद्यान्न ढुवानीमा समस्या भएको हो ।
धवलागिरी गाउँपालिका–२, लुलाङ, देउराली, लट्बाङ हुँदै गूर्जा पुग्ने पदैलमार्गमा करिब ४ फिटसम्म हिउँ जमेको कारण पैदलयात्री, खाद्यान्न ढुवानी गर्ने खच्चडलाई आवतजावत गर्न समस्या भएको गाउँपालिकाका प्रवक्ता एवं गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमार्फत जानकारी दिएका छन् । उनका अनुसार बाक्लो हिउँ परेका कारण बाटो अवरुद्ध बनेको हुँदा गाउँमा आवश्यक पर्ने खाद्यान्न साम्रागीको अभाव सुरु भएको छ ।
गत फागुन १४ र १५ गते परेको वर्षासँगैको हिमपातले गूर्जा जोड्ने प्रमुख मार्ग हिमपातकै कारण बन्द भएको वडा अध्यक्ष छन्त्यालले बताए । लुलाङ र गूर्जाको सिमानामा पर्ने देउरालीमा करिब चार फिट हिम जमेको बताइएको छ । देउराली गूर्जा गाउँ जोड्ने घना जङ्गल हो । चट्टान जस्तै जमेको हिउँ नपग्लिँदा गूर्जाबाट गाउँपालिकाको केन्द्र मुना भएर सदरमुकाम बेनी आउने स्थानीयले गूर्जादेखि मुदीको अर्चे हुँदै मुदी गाउँबाट मुनातर्फ जाने गरेपनि अत्यन्त जोखिमपूर्ण भएकाले समस्या भएको बताएका छन् ।
जाडोयामका लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्थापन गरेका स्थानीयले हिमपातले मार्ग अवरुद्ध भएपछि अभाव झेल्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । छिमेकी जिल्ला बागलुङ र रुकुमबाट समेत गूर्जा जोड्ने मार्गमा हिमपात भए पनि सोही मार्गबाट खाद्यान्नसहितका अति आवश्यक साम्रगीहरु ल्याउन धौ–धौ हुने गरेको स्थानीयवासी बताउँछन् । फागुन महिनाको अन्तिमसम्म पनि अझै गाउँको आसपासमा हिउँ जमेका कारण कलिला बालबालिकादेखि वृद्धवृद्धालाई समस्या भएको स्थानीय गोर्खा छन्त्यालले बताए । बस्ती आसपासका चरन क्षेत्रमा जाने बाटो समेत सहज नभएको उनले बताएका छन् ।
गूर्जाको एउटै बस्तीमा मात्रै करिब साढे ३ सय घरधुरीहरु रहेका छन् । अध्ययन, व्यापार तथा व्यवसाय र उपचारका लागि स्थानीयले हिउँ जमेका कारण जोखिम झेल्नुपरेको छ । जमेको हिउँलाई हटाउन स्थानीयले श्रमदान गरेपनि बाक्लो भएकाले समस्या भैरहेको वडा अध्यक्ष छन्त्यालको भनाइ छ ।
यता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित पर्यटकीयस्थल घारेपानी र पुनहिलमा पनि हिउँ जमेका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सास्ती भएको छ । यस वर्षको विभिन्न समयमा पटकपटक परेको भारी हिमपात जमेका कारण स्थानीयवासीका साथै घोरेपानी र पुनहिल घुम्न जाने पर्यटकलाई समस्या भैरहेको छ । घोरेपानीको सडक, पाखो, वनजङ्गल र वस्तीमा परेको हिउँ अहिलेसम्म पग्लिसकेको छैन ।
घोरेपानीका होटलहरुको आँगन र करेसामा पनि हिउँ जमेका कारणले गर्दा अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर हुने गरेको छ । बाक्लो हिमपातका कारण घोरेपानी र पुनहिल जाँदा र फर्किंदा पर्यटकलाई निकै दुःख भैरहेको छ ।
Previous Articleलिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परीक्षण
Next Article मंगला गाउँपालिकाको बराङ्जामा हेलिप्याड निर्माण