गएको १५ फागुनदेखि लगातार परेको हिमपातका कारण मुस्ताङको माथिल्लो भेगमा १२ सय भन्दाबढी पशु चौपाया मरेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका, थासाङ गाउँपालिकालगायत क्षेत्रका स्थानीय कृषकहरुले पालेका पशु चौपाया मरेका हुन् ।
सीमा प्रहरीचौकी लोमान्थाङले दिएको जानकारी अनुसार लगातारको हिमपातका कारण लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा ८ सय ८८ भेडा च्याङ्ग्र्रा, २ सय ३९ चौरी मरेका हुन् । हिमपातबाट ५५ जना स्थानीय कृषकहरु पीडित बनेको प्रहरीचौकीले जनाएको छ । हिमपातका कारण थासाङ गाउँपालिका–२, का गोविन्द शेरचनले पालेका ८ वटा चौंरीगाई समेत हिउँ पहिरोमा परेर मरेका हुन् ।
हिमपातका कारण १ हजार १ सय ३५ वटा पशु चौपाया मरेको र झण्डै २ करोडको क्षति भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि मुस्ताङका हिमपात प्रभावित क्षेत्रहरुमा प्रहरीको टोली परिचालन गरिएको सीमा प्रहरीचौकी लोमान्थाङले जनाएको छ । लोमाङथाङ गाउँपालिकाका कार्यकारी अधिकृत सुशील अर्यालले प्रहरी तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको सक्रियतामा क्षति विवरण सङ्कलन कार्य सुरु गरिएको बताए ।
मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले प्रतिनिधिसभाको आइतबार सम्पन्न बैठकमा हिमपातबाट भएको क्षति विवरण यकिन गरी क्षतिपूर्ति दिलाउन संसदमार्फत सरकारसमक्ष माग गरेका थिए ।