प्रताप बानियाँ
म्याग्दी, फागुन २७ – आठौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका खेलाडीहरु म्याग्दीको बेनीमा सम्मानित भएका छन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट स्वर्णपदक हात पारी राष्ट्रिय खेलकुदमा छनोट भएका व्यक्तिगत विधा र समूहगततर्फ उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिएको हो ।
माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको महारानीथानमा नवनिर्मित भवनमा सोमबार आयोजित कक्षा आरम्भ कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । खेलाडीहरुलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले अबिर र खादा लगाएर सम्मान गरेका थिए ।
राष्ट्रिय खेलकुदका लागि छनोट हुने भलिबलतर्फ जमानसिङ परियार, उसुतर्फ अनिश अर्मजा, तेक्वान्डोमा ममता गर्बुजा, कबड्डीतर्फ पूर्णकुमारी किसान, लक्ष्मी विक र अमृत सेन्च्युरीलाई सम्मान गरिएको छ । यसैगरी प्रदेशस्तरीय खेलकुदमा पदक लिन सफल सुष्मी पूर्जा, माया तिलिजा, मेनुका तिलिजा, गणेश पुनमगर, अभिशेक बानियाँ, सृजना बराईली, प्रमोद परियार, स्वेता शाक्य, रेट्रोना बानियाँ र सुदिना बुढामगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै जिसस प्रमुख केसीले शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद क्षेत्रको विकासमा पनि विद्यालयले जोड दिनुपर्ने बताएका थिए । विद्यालयका एकेडेमिक डाइरेक्टर राजु केसीले माउण्ट एभरेष्टले ठाउँ मात्र परिवर्तन नगरी समग्र शैक्षिक नीतिमा समेत परिवर्तन गरेको बताउँदै कक्षागत सेक्सनलाई पर्यटकीयस्थलको नामाकरण गरिएको जानकारी दिए । विद्यालयका म्यानेजिङ डाइरेक्टर किरण सापकोटाले विद्यालयको समग्र क्षेत्रको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बेनपा–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, विद्यालयको कक्षा ९ व्यवस्थापन समिति अध्यक्ष राजु बानियाँ, ७ कक्षा अध्यक्ष रामबहादुर खत्री र प्राथमिक तहका अध्यक्ष ज्योती लामिछानेले मन्तव्य राखेका थिए । कार्यक्रम माउण्ट एभरेष्टका कार्यवाहक प्रमोद श्रेष्ठको अध्यक्षता, डा. त्रिदिप उपाध्याय र विद्यार्थी आयुष्मा सुवेदीको स्वागत तथा भाइस प्रिन्सिपल अमृत सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
खेलाडी सम्मान गर्दै यसरी सरे नयाँ भवनमा माउण्ट एभरेष्ट (फोटोफीचर)
Previous Articleगित संगितमै मग्न बुनु शर्मा उप्रेती म्युजिक भिडियो सहित
Next Article हिमपातले १२ सय पशु–चौपाया मरे