म्याग्दी जिल्लाका पाँचवटा सहकारी संस्थाले अबदेखि सँगसँगै यात्रा गर्ने भएका छन् । पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, फुलबारी बचत तथा ऋण सहकारी संस्था, कामना बचत तथा ऋण सहकारी बेनी, बाबियाचौर बहुउद्देश्यीय सहकारी र सिङ्गा उपभोक्ता सहकारीको बिचमा एकीकरण गरिएको हो ।
आइतबार दरबाङमा आयोजित विशेष एकीकृत साधारणसभाले सुरेन्द्रराज शर्माको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भीमप्रसाद गौतम, सचिवमा हरिप्रसाद पौडेल, कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य र सहसचिवमा थमन गौतम चयन भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा दुर्गाबहादुर बुढा, देवबहादुर घले, मायादेवी शर्मा, हरिकला थापा, प्रेम विश्वकर्मा र सुवर्ण रिजाल रहेको प्रवन्धक सदन कँडेलले बताए ।
यसैगरी साधारणसभाले रिमप्रकाश थापा संयोजक, जालमाया हमाल बुढाथोकी र दीपक पौडेल सदस्य रहेको लेखा, भीमप्रसाद गौतम संयोजक, दिवाकर सुवेदी र कमलनाथ शर्मा सदस्य रहेको ऋण उपसमिति चयन गरेको प्रवन्धक कँडेलले जानकारी दिए । कुल ३ हजार ८ सयजना शेयर सदस्य रहेकोमा पाँच करोड ७९ लाख ३८ हजार चारसय शेयर पुँजी, ३२ करोड ७० लाख दुईहजार चारसय ५० लगानी र एक करोड १८ लाख ६१ हजार एकसय नौ रुपैयाँ जगेडा कोष रहेको संस्थाका लेखापाल सन्तोष शर्माले बताए ।
साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले वित्तीय सहकारीले ३० प्रतिशत कृषि क्षेत्रमा र कृषि सहकारीहरुले ७० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने बताउँदै सहकारीले कृषि, पशुपालन र पर्यटनमा लगानी गरे प्रदेश आत्मनिर्भर बन्ने बताए । जग्गा बाँझो राख्नेहरुलाई दोब्बर जरिवाना लगाइने भन्दै सहकारी मन्त्री थापाले कृषि क्षेत्रमा नयाँ आयाम दिन सहकारी संघसंस्थालाई जोड दिइएको बताए ।
गण्डकी प्रदेशका सांसद विनोद केसीले समृद्ध नेपाल निर्माण र सुखी नेपाली बनाउने मूलमन्त्रसहित सरकार अघि बढिरहेको बताउँदै स्रोतसाधनको उचित परिचालन गरेर स्वदेशमै रोजगारको वातावरण बनाइने बताए । उनले गण्डकी प्रदेशमा ३५ सयबढी सहकारीहरु रहेकोमा ६५ अर्ब पुँजी रहेको बताउँदै सहकारीमा रहेको पुँजी कुन क्षेत्रमा कसरी लगानी भैरहेको छ त्यसको अध्ययन गर्न आवश्यक रहेको बताएका थिए । गण्डकी प्रदेशका सहकारी विभागका उपसचिव बद्रीनाथ अधिकारीले नेपालमा ३४ हजारबढी सहकारीहरु रहेपनि राष्ट्रलाई योगदान पु¥याउन नसकेको बताउँदै प्रदेश सरकारले एक सहकारी एक उत्पादन गर्नैपर्ने नीति बनाएको बताएका छन् ।
कार्यक्रममा पूर्व सांसद नवराज शर्मा, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, दरबाङका वडा अध्यक्ष सन्तनाथ सुवेदी, पश्चिम दरबाङ बचत तथा ऋण सहकारीका सल्लाहकार रामचन्द्र गौतम र कामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रम पश्चिम दरबाङ सहकारीका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, उपाध्यक्ष भीमप्रसाद गौतमको स्वागत र सचिव बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाको नाम पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था राख्ने एकीकृत साधारणसभाले निर्णय गरेको छ ।