नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्वाचन भएर शेरवहादुर देउवाले सभापतिको पद सम्हालेको गत शुक्रबार अर्थात् फागुन २४ गते ३ वर्ष पुग्यो । २००३ सालमा स्थापना भएको नेपाली कांग्रेसले २०७२ फागुन २४ गते १४ औं सभापतिका रुपमा देउवालाई चुनेको थियो । पहिल्यै देखि देउवाले सभापतिका लागि दावी पेस गर्दै आएको भएपनि विगत २०५७ देखि अलिक कडा तबरले नै सभापतिमा दावी गर्दै आएका थिए । नेपाली कांग्रेसको नेतृत्व हेर्ने हो भने टंकप्रसाद आचार्यले एक वर्ष डिल्लीरमण रेग्मीले एक वर्ष, सुवर्ण समशेर राणाले दुई वर्ष, विश्वेश्वर प्रसाद कोइरालाले २५ वर्ष, मातृकाप्रसाद कोइरालाले ४ वर्ष, कृष्णप्रसाद भट्टराईले १९ वर्ष कार्यवाहक सहित २० वर्ष सभापति, गिरीजाप्रसाद कोइरालाले १४ वर्ष र शुशिल कोइरालाले करिब छ वर्ष पार्टी सभापति भएर पार्टी सञ्चालन गरे । नेपालको जेठो पार्टी भनेर दावी गर्दै गर्दा देशको नेतृत्वमा पनि कांग्रेस नै धेरै पटक पुगेको कुरामा दुईमत पक्कै छैन ।
शेरवहादुर देउवाले कांग्रेसको बागडोर सम्हालेको २४ गते तीन वर्ष पुग्यो भने २५ गते बेनीमा पार्टी कार्यालय उद्घाटन गरे । २६ गते विहान पत्रकार सम्मेलनमा मार्फत् देउवाले कांग्रेस आफ्नै बिधान अनुसार चल्ने भनेर पत्रकारलाई जानकारी गराए । तर उनले पार्टी कमाण्ड सम्हालेको ३ वर्षमा कांग्रेसका १७ भातृ संगठनमध्ये १३ संस्थाको अवधि सकिएको छ । दलित संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्टिय लोकतान्त्रीक संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको अवधि सकिएको छ भने नेविसंघको महाधिवेशन गराउन नसकेको कारण विघटित अवस्थामा र तरुण दल चार जनाको भरमा छ । माहाधिवेशन सकिएको दुई महिना भित्र गठन गर्नु पर्ने विभिन्न ४२ वटा विभागहरु तीन वर्षमा पनि गठन हुन नसक्नु कुन विधानको आधारमा चल्ने रहेछ कांग्रेस । कुन विधानका आधारमा संसदिय समिति र केन्द्रीय कार्यसम्पादन समिति विघटन भएर खाली रहेको छ त?
नेपाली कांग्रेस को आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने भन्दै पत्रकार सम्मेलनमा कुरा राख्दै गर्दा पार्टी भित्रैका विभिन्न संघ संगठनहरुका नेतृत्वले के सोचे होलान ? २०७२ फागुन २४ गते महाधिवेशन सकिएको दुई महिना भित्रै गरि सक्नु पर्ने पदाधिकारी मनोनयन २०७५ बैशाखमा मात्रै भयो कुन विधान अनुसार ? आफू नेतृत्वमा आउन नपाएको समयमा देउवाले संधै कोइरालालई पार्टी लथालिङ्ग भएको भन्दै नेतृत्वले काम गर्नै नसकेको आरोप लगाउने गरेको भएपनि उनले झन कोइराला परिवारलाई उछिनेका छन् । कुनै पनि जनवर्गीय संगठनको सक्रियता निस्क्रिय प्राय हुनु कुनै पनि हालतमा विधान अनुसारको कामले होइन । पार्टीका लागि सक्रिय तथा पार्टीको उर्जा प्रदान गर्ने नेविसंघ विघटन अनि त्यस्तै अन्य जनवर्गीय संगठनमा निस्क्रियता पार्टी विधानले गर्दा भएको पक्कै पनि होइन । पार्टीको विधानमा उल्लेख गरेका कामहरुलाई लत्याउने नेतृत्वले विधान अनुसार पार्टी चल्छ भन्नु कति सम्म ठिक होला ?
Previous Articleबाइसेक्सुअल त छैनन तपाइका साथी
Next Article जिल्लाका पाँचवटा सहकारी एकै ठाउँमा