समुदायमा छरिएर रहेका महिलाहरु आबद्ध आमा समूहका संस्थालाई एकीकृत गर्ने अभियानको थालनी भएको छ । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न आमा समूहका प्रतिनिधिहरुलाई वडास्तरीय सञ्जालमा आबद्ध गराएर एकीकृत गराउने प्रयास गरेको जनाएको छ ।
नगरपालिकाको विभिन्न वडा र गाउँगाउँमा क्रियाशिल आमा समूहहरुलाई अझै सक्रिय बनाउने उद्देश्यसहित पहिलो चरणमा वडास्तरमा महिला सञ्जालमा आबद्ध गराउन लागिएको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले जानकारी दिएकी छिन् । हालसम्म बेनी नगरपालिकाको रत्नेचौर, सिङ्गा, पुलाचौर र अर्थुङ्गे क्षेत्रका आमा समूहहरुको वडास्तरमा एउटै महिला सञ्जाल बनाइएको उनले बताइन् ।
वडास्तरमा गठन गरिएका महिला सञ्जालमा ती वडामा क्रियाशिल सबै आमा समूहका एकएक जना अध्यक्षलाई आबद्ध गराइएको हो । बेनपाको सबै वडामा महिला सञ्जाल गठन गरिसकेपछि ती सञ्जालको माध्यमबाट एउटा नगरपालिकास्तरीय महिला सञ्जाल बनाउने लक्ष्यसहित अहिले वडावडामा कार्यक्रम गरिएको नगर उपप्रमुख बरुवालको भनाइ छ । वडावडामा गठन गरिएका सञ्जालको माध्यमबाट समुदायसम्म महिलासँग सम्बन्धित विभिन्न गतिविधिहरु सञ्चालन गर्ने तयारी समेत गरिएको छ ।
यसैक्रममा बुधबार म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सम्पन्न महिलाहरुको भेलाले शान्ति पौडेलको अध्यक्षतामा वडास्तरीय महिला सञ्जालको पूनर्गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा रन्जिता पौडेल, सचिवमा ईन्दिरा जिसी, उपसचिवमा उमा पौडेल र कोषाध्यक्षमा रुपा खत्री रहेका छन् ।
यसैगरी सञ्जालको सदस्यहरुमा टिकाकुमारी कार्की, सुनमाया परियार, रेजिना कटुवाल, विष्णु आचार्य, राधिका बानियाँ, मनकुमारी विक, लालकुमारी भण्डारी, कौसिला बानियाँ, भीमकुमारी विक, राममाया नेपाली, सरस्वती कार्की, कलमाया पाईजा र सुकमाया परियार रहेको वडा कार्यालयले जनाएको छ ।
वडा भेलालाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले गाउँगाउँमा रहेका आमा समूहलाई एकीकृत गर्नका लागि सञ्जालको अवधारणा ल्याइएको बताइन् । उनले महिलाहरुको व्यक्तित्व, नेतृत्व र क्षमताको विकास गर्न सञ्जाल गठन गरिएको बताउँदै समाज परिवर्तनका लागि सबै लाग्नुपर्ने बताएकी थिइन् । नगर कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै समाज परिवर्तन र रुपान्तरणका लागि महिला÷पुरुष सँगसँगै हिँड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएकी थिइन् ।
कार्यक्रममा बेनपा–५, का वडा सदस्य रामप्रसाद सुवेदी र वसन्त आमा समूह पुलाचौरका अध्यक्ष शान्ति शर्माले मन्तव्य राखेका थिए । वडास्तरीय महिला सञ्जालका अध्यक्ष शान्ति पौडेलको अध्यक्षता र वडा सदस्य यामकुमारी पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिवालय आमा समूहका विन्दु सुवेदीले स्वागत गरेकी थिइन् ।
पछिल्लो समय गाउँगाउँमा हुने कार्यक्रममा आमा समूहहरु निकै क्रियाशिल भएर अगाडि बढेका छन् । उनीहरुले कार्यक्रमका साथै मासिक रुपमा बचत गर्ने गरेका पनि छन् । यही गतिविधि गर्ने आमा समूहलाई व्यवस्थित बनाउन र उनीहरुलाई सरकारी नीति नियममा ल्याउन पनि सञ्जालले आवश्यक काम गर्ने बताइएको छ ।