म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा एकैदिन तीनलाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रीको अवसरमा मन्दिरमा दर्शन गर्न आएका भक्तजनबाट तीनलाख १४ हजार दुईसय ५० रुपैयाँ भेटी सङ्कलन गरिएको हो ।
गत वर्षको शिवरात्रीमा दुईलाख ६६ हजार नौसय ८८ रुपैयाँ भेटी सङ्कलन भएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले दिएको जानकारी अनुसार भेटीको दुरुपयोग हुन नदिने गरी शिवरात्री, साउने सोमबार, बालचतुदर्शी लगायतका पर्वको दुई दिनभित्र सार्वजनिक गर्ने गरिएको छ । मन्दिरमा हरेक वर्ष भौतिक पूर्वाधारका साथै शिवजीको दर्शनका लागि आउने भक्तजनलाई सहज भएकाले पनि वर्षेनी भेटी वृद्धि हुने गरेको बताएका छन् ।
गलेश्वरमा महाशिवरात्री पर्वमा करिब ५० हजार भक्तजनहरुले दर्शन गरेका छन् । म्याग्दी जिल्लाका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगायतका जिल्लाबाट भक्तजनहरू आएका थिए । गलेश्वर मन्दिरमा साउने सोमबार, शिवरात्रीमा समेत दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । साउने सोमबार, बालाचर्तुदशीपछि धेरै भक्तजन शिवरात्रीमा आउने गर्दछन् । मन्दिरमा सङ्कलन भएको भेटीले संस्कृत पाठशाला, ज्येष्ठनागरिकको आश्रमलगायत धार्मिक क्षेत्रमा खर्च गर्ने गरिन्छ ।
भेटी सङ्कलनदेखि गन्ने अवधिभर मन्दिर नजिक रहेको प्रहरीचौकीबाट समेत प्रहरीको उपस्थित हुने गरेको छ । कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।
Previous Articleमिलनचोकमा प्रभावकारी अभिभावकत्व विषयक अन्तक्रिया
Next Article बालबालिकालाई शैक्षिक सामग्री सहयोग