पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको धौलागिरी कालिका हाईड्रोले शेयर लगानीको आह्वान गरेको छ । आयोजनाले शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामूहिक लगानी सेमिनारको आयोजना गरी शेयर आह्वान गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले सङ्घीय सरकारको मातहतमा रहेको जलविद्युतलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले प्रदेश सरकारले बजेट, नीति तथा कार्यक्रममार्फत पर्यटन, जलविद्युत, कृषि र उद्योगलाई विशेष जोड दिएको बताउँदै गण्डकी प्रदेश नेपालमा जलविद्युत उत्पादनका लागि अब्बल रहेको बताए । गण्डकी प्रदेशमा २० हजार बढी मेगावाट क्षमताको विद्युत उत्पादनको भण्डार रहेपनि हाल ४ सय मेगावाट मात्र उत्पादन भैरहेको भन्दै उनले प्रदेश सरकारले विकास निर्माणमा भएका विभिन्न बाधा अड्चन हटाउन आवश्यक पहल गर्ने बताएका थिए ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले हाईड्रो निर्माणका लागि सडकको पनि निर्माण गर्नुपर्ने बताउँदै निर्माणाधीन अवस्थामा रहेको धौलागिरी कालिका हाईड्रोको निर्माण अब छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने बताए । उनले प्रोजेक्ट सञ्चालनका क्रममा केही समस्या भए वार्ताबाट समाधान खोज्नुपर्ने भन्दै त्यसका लागि जिल्ला समन्वय समितिले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले हाइड्रो मुलुक समृद्धिको आधार भएको बताउँदै राज्यले पनि प्रत्येक नेपालीलाई हाइड्रोमा शेयरको अवसर दिने बताएको हुँदा जलविद्युतका आयोजनामा सेकेण्डरीभन्दा प्राइमरी मार्केटमै शेयर खरिद गर्न पाउनुपर्नेमा जोड दिए । उनले धौलागिरी हाईड्रो विगतमा साविकका पाँचवटा गाविसले मात्रै लगानी गर्ने भनिए पनि अहिले बाहिरका लगानीकर्तालाई किन खोजियो ? भन्दै प्रश्न गरेका छन् । उनले यसअघि प्रमोद श्रेष्ठ अध्यक्ष भएकोमा जबरजस्ती हाइड्रो खोस्ने काम भएको ठोकुवा गरे ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले आ–आफ्नो धारणासहित मन्तव्य राखेको कार्यक्रममा सहभागी कृष्णबहादुर बानियाँ, गोविन्दप्रसाद पौडेल, बाबुराम आचार्य, नारायण जिसी र राजेन्द्रकुमार श्रेष्ठले बोलेका थिए । हाईड्रोका विषयमा उठेका जिज्ञासाको अध्यक्ष विनोद कुँवर र प्रवन्धक हर्कमान घर्तीमगरले जवाफ दिएका थिए । कार्यक्रम हाइड्रोका अध्यक्ष कुँवरको अध्यक्षता, प्रवन्ध÷निर्देशक घर्तीमगरको स्वागत तथा जानकारी र पत्रकार हरिकृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
कुल पाँच अर्ब १४ करोड लागत रहेको आयोजनामा संस्थागत पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिनेछ । आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले तीन अर्ब ५० करोड ऋण लगानी गर्ने एकवर्ष अगाडि नै सम्झौता भएको थियो । आयोजामा दक्षिण कोरिया, हङकङ, युकेलगायत विश्वका विभिन्न देशका साथै काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीको म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहेका छन् ।
Previous Articleपर्या–पर्यटन प्रवद्र्धनका लागि सातवटा समूह
Next Article सम्झनामा मात्र रविन्द्र