म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रवद्र्धन गर्न सातवटा सामुदायिक वन उपभोक्ता समूह छनौट गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको वैठकले प्राप्त प्रस्तावका बारेमा छलफल गरी पर्या–पर्यटन कार्यक्रम सञ्चालन गर्न योजना छनौट गरेको हो ।
सामुदायिक वनमा आधारित रहेर पर्यापर्यटन प्रवद्र्धन कार्यक्रमका लागि संघीय सरकारबाट २५ लाख र गण्डकी प्रदेशबाट १० लाख गरी ३५ लाख रुपैयाँ शर्सत अनुदान प्राप्त भएको जिल्ला वन डिभिजन कार्यालयका प्रमुख हरिशचन्द्र सापकोटाले बताए । कार्यक्रम सञ्चालन गर्न जिल्लामा रहेका सबै सामुदायिक वन उपभोक्ताहरुलाई प्रस्ताव माग गरिएको र सातवटा मात्र प्रस्ताव कर्यालयमा पेश भएको उनले जानकारी दिए ।
वैठकले पौलत्स्य आश्रम सामुदायिक वन उपभोक्ता समूह बेनपा–५, धौलागिरी गाउँपालिकामा दहपातल सामुदायिक वन उपभोक्ता समूह मुना, भीरखर्क सामुदायिक वन उपभोक्ता समूह मालिका–५, खैरनी सामुदायिक वन उपभोक्ता समूह बेनपा–६, बगरफाँट सामुदायिक वन उपभोक्ता समूह बेनपा–२, पुला गाजने सामुदायिक वन उपभोक्ता समूह बेनपा–५, र सिद्ध सामुदायिक रघुगंगा–५, लाई पर्यापर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि प्रति समूह पाँचलाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विमला लम्सालले जानकारी दिइन् ।
यसैगरी वैठकले सिमसार क्षेत्रको संरक्षण व्यवस्थापनका लागि संघीय सरकारबाट प्राप्त भएको तीनलाख रुपैयाँ प्रति समूह एकलाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको सहायक वन अधिकृत लम्सालले बताइन् । अधिकृत लम्सालका अनुसार मालिका गाउँपालिका–५, देविस्थानमा रहेको बराहताल संरक्षणका लागि बन्चरे बाख्राखोर सामुदायिक वन उपभोक्ता समूह, मंगला गाउँपालिका–४, बरंजास्थित पोखरी निर्माण संरक्षणका लागि भित्री वन सामुदायिक उपभोक्ता समूह र बारही दह संरक्षण र व्यवस्थापनका लागि घुमाउने कोर्खे सामुदायिक वन उपभोक्ता समूह अन्नपूर्ण गाउँपालिका ८ राम्चेलाई छनौट गरिएको छ ।
यसैबीच डिभिजन वन कार्यालयले आगलागी नियन्त्रणका लागि खरिद गरेका दुईलाख ३० हजार रुपैयाँ मुल्य बराबरका ६ सेट विभिन्न सामग्री तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुलाई जिसस प्रमुख केसी र डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले हस्तान्तरण गरेका थिए ।
Previous Articleप्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनमा दुःख व्यक्त
Next Article धौलागिरी कालिका हाइड्रोद्वारा शेयर आह्वान