प्रताप बानियाँ
बुधबार मध्यरातमा परेको असिना पानीले म्याग्दीका कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी बाली नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेसम्म बिचको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो ।
असिना र पानीले तरकारी खानका लागि तयारीमा अवस्थामा रहेको बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, धनिया, मुला लगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकहरुले गुनासो गरेका छन् । म्याग्दीको बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, लगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिना पानीले नष्ट गरिदिएको छ ।
असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पु¥याएको छ । बुधबारको राती परेको असिना र पानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिना पानीले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । विगत ४० वर्षदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले असिनाले आफ्नो करिब चारलाख रुपैयाँ बराबरको तरकारी खेती नष्ट गरेको गुनासो गरेका छन् । टिपेर बिक्रीका लागि बजार पठाउने तयारी हुनै लाग्दा परेको असिना र पानीले आफ्नो ८ रोपनीमा लगाएको तरकारी खेतीमा क्षति पुगेको उनले जानकारी दिए ।
असिनाले किसानहरुको टनेलमा पनि क्षति पु¥याएको छ । बेनी नगरपालिकाको खबरा, बगरफाँट लगायतका क्षेत्रबाट म्याग्दी सदरमुकाम बेनीबजारमा दैनिक रुपमा तरकारी आयात हुने गर्दछ । खबरासहितका तल्लो तटीय क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बुधबार बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिना पानी परेको हो । असिनाले वनजङ्गल र पाखो बारीमा रहेका रुखका हाँगा भाँच्नुका साथै पातपतिङ्गरहरु समेत झारेको छ । असिनाले गर्दा तरकारी बालीसहित पाक्न लागेको गहुँ र तोरी बालीलाई पनि क्षति पु¥याएको छ ।
वर्षा र हिमपातले सताइरहेका समयमा असिना पानी समेत परेपछि जनजीवन थप कष्टकर बनेको छ । म्याग्दीको तल्लो क्षेत्रमा अचानक असिना परेपछि जमिन पुरै सेताम्य भएको छ भने बेमौसमी तरकारी बाली तथा अन्नबालीमा क्षति पुगेको हो । लगातार तीन दिनसम्मको वर्षा, हिमपात र असिनाका कारण हिउँदे बालीमा क्षति पुगेपछि किसानहरु मर्कामा परेका छन् । अत्यधिक चिसोका कारण हिउँदे बालीमा क्षति पुगेको छ भने मानिस र पशु चौपायाहरु समेत जाडोका कारण कठ्याङ्ग्रियर बस्न बाध्य भएको स्थानीयवासीको भनाइ छ ।
सरकारले ल्याएको कृषि बिमा कार्यक्रममा सहभागी नभएका कृषकहरु असिना पानीले तरकारीमा क्षति पु¥याउँदा उनीहरुलाई थप समस्या भएको छ । सरकारले कृषकहरुलाई लक्षित गरेर ल्याएको कृषि बिमा तथा पशु बिमा जस्ता कार्यक्रमहरु ल्याएको भए पनि म्याग्दीमा भने यो कार्यक्रमले प्रभावकारीता पाउन सकेको छैन ।
Previous Articleबस्ती जोगाउनका लागि नदीजन्य वस्तुको स्थानान्तरण
Next Article प्रवासी नेपाली एकता मञ्च ओमन द्वारा शाेकसभा सम्पन्न