म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटलाई जोगाउनका लागि म्याग्दी नदीका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्वारा गाउँतर्फ स्थानान्तरण गरी गाउँ संरक्षण गर्ने काम शुरु भएको छ ।
२०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । करिब २ सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि वर्षामा भने नदी कटानका कारण सधैं जोखिममा रहने गरेको स्थानीयले बताएका छन् ।
यसवर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम थालिएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनपा–६, डम्मराका वासिन्दाहरुको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुङ्गा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको हो । नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनीबजारसँगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो ।