बुद्ध शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले युवा बौद्ध संघ म्याग्दीले आयोजना गरेको सातौं माविस्तरीय बौद्ध हाजिरीजवाफ रनिङ शिल्ड प्रतियोगिताकोमा बेनी सामुदायिक मावि प्रथम भएको छ । बालबालिकालाई कुलतबाट बचाउने, अनुशासित र चरित्रवान् बनाउँदै घरघरमा बुद्ध शिक्षा पु¥याउन लक्ष्यका साथ बुद्ध विहारमा आयोजित प्रतियोगितामा गलेश्वर आर्दश आमावि र बेनी आमावि क्रमश द्वितीय र तृतिय भएका थिए ।
प्रतियोगितामा लोकदिप आमावि र न्यु वेष्ट पोइन्ट आमाविले सान्त्वना स्थान हात पारेका थिए । प्रतियोगितामा विजेताले नगद पाँचहजार, रनिङ शिल्ड, विजेता शिल्ड, उपविजेताले नगद तीनहजार, विजेता शिल्ड, तृतीय र सान्त्वनाले क्रमशः नगद दुईहजार र एकहजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको युवा बौद्ध संघ म्याग्दीका कार्यसमिति सदस्य एवं प्रतियोगिता संयोजक यामबहादुर विकले बताए ।
प्रतियोगिताका विजेतालाई बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले पु्स्कार वितरण गर्दै विद्यालयमा बुद्ध शिक्षालाई प्राथमिकतासहित नैतिकता र असल कर्मका लागि बुद्धका पञ्चशीलतालाई प्राथमिकता दिनुपर्ने बताए । उनले असल बन्ने, खराब काम त्याग्ने, दुःखबाट छुटकारा पार्नेलगायत भगवान बुद्धका उपदेशलाई विद्यालयबाटै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
प्रतियोगितामा म्याग्दी बुद्ध संघका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, कार्यवाहक अध्यक्ष भुलमायाँ तिलिजा, महिला बौद्ध संघका अध्यक्ष टकसरा राना, निर्णायक मण्डलका संयोजक याम शाक्य, बिहारका भिक्षु सम्यक सम्बोधी प्राणपुत्र लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताको अवसरमा युवा बुद्ध संघका अध्यक्ष सचिन शाक्यले भगवान बुद्धको शिक्षालाई नगरपालिकाले पाठ्यक्रममा समावेश गर्न सकेमा विद्यालयमै पुगेर विद्यार्थीलाई बुद्ध शिक्षाका बारेमा जानकारी गराउन सकिने बताए ।
युवा बौद्ध संघले विद्यालयमा पुगेर भगवान बुद्धको शिक्षाका साथै बालबालिकालाई ठूलालाई आदर, सानालाई माया, परोपकारी भावना, कुलत विरुद्धको सामुहिक प्रतिबद्धताका साथै साँचो बोल्न सिकाउने गरी अभियान सञ्चालन गर्ने जनाएको छ । हाजिरीजवाफ प्रतियोगिताको सञ्चालन सचिव खमबहादुर थापाले गरेका थिए ।
Previous Articleरघुगंगाले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
Next Article क्षत्री समाज म्याग्दीको १३औं वार्षिक साधारणसभा