म्याग्दीको बेनीबजारमा सञ्चालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बाँसुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षीय एक युवा बाँसुरीमा भविष्य खोज्दै दिनरात मेहनेत गरिरहेका भेटिन्छन् ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण बिहान बेलुकी रेडियोमा प्राविधिकको काम गरेर दिउँसो कलेजमा अध्ययन गर्ने बेनी नगरपालिका–६, अर्थुङ्गेका नविन बानियाँको पेशा रेडियो प्राविधिकको भए पनि उनको चेष्टा कुशल बाँसुरीबादक बनेर चिनिने रहेको छ ।
८÷९ वर्षको उमेरदेखि नै बाँसुरीमा ‘टक’ बसेपछि बाँसुरीबाट नै ‘लक’ (भाग्य) चम्काउने ध्याउन्नमा बानियाँ लागेका छन् । बासुरीका प्वालहरुमा हात चल्न थालेपछि भोक र निद समेत बिर्सिने गरेको बताउने बानियाँको बाँसुरी मोह कम रोचक छैन । ‘म आठ वर्षको थिएँ’ बानियाँले आफ्नो अतितलाई खोतल्दै भने, ‘मेरो मामा नारायण पौडेल उकाली ओराली गर्दा बाँसुरी बजाउँदै हिँड्नुहुन्थ्यो, त्यो बाँसुरीको धुनले मलाई सारै लोभ्याउथ्यो । एकदिन मामाको बासुरी चोरेर बजाउँदै गर्दा आमाको कुटाइ खाएँ । त्यही कुटाइले मलाई झन् बाँसुरीको नजिक धकेल्यो र म एकदिन कुशल बाँसुरीबादक बनेर देखाउने प्रतिज्ञा गरें । ’मामाको बाँसुरी चोर्दा खाएको आमाको कुटाई नै बानियाँका लागि बाँसुरी बजाउने गजबको ऊर्जा बन्यो । म्याग्दीकाली एफएमका कार्यक्रम सञ्चालक समेत रहेका बानियाँ झोलामा किताबसँगै बाँसुरी बोकेर हिड्न थाले ।
बाँसुरीमा मन त थियो तर अरु स्केलका बाँसुरी किन्नका लागि बानियाँसँग धन थिएन । एउटा सानो बाँसुरी बजाएर मात्र कुशल बाँसुरीबादक बन्न सकिदैनथ्यो । बानियाँले खाजा पनि नखाइकन पैसा बचत गर्न थाले बाँसुरी किन्नका लागि । गाउँमा हुने मेला पर्व, उकाली ओराली र स्कुल आउँदा जाँदा बाँसुरी बजाउँदै हिड्ने बानियाँको बाँसुरी मोह र कला देखेर कृष्णराज पौडेलले भिडियो खिचेर सामाजिक सञ्जाल युट्युवमा राखिदिए । त्यो भिडियो हेरेर स्याङ्जा घर भई हाल कोरियामा कार्यरत रन्जित राणाले १० हजार पठाइदिए । त्यही पैसाबाट बानियाँले विभिन्न स्केलका १२ ओटा बाँसुरी किनेको बताए ।
बानियाँले भने, ‘मेरो घरको आर्थिक अवस्था कमजोर छ, कमाइको भरपर्दो माध्यम केही पनि छैन । रन्जित सरले कोरियाबाट पठाइदिएको १० हजार रुपैयाँले बाँसुरी किनेको छु, अब रातदिन मेहनेत गरेर नेपालको कुशल बाँसुरीबादक बन्ने मेरो उद्देश्य रहेको छ ।’ बानियाँको उद्देश्य उनको रुचि र क्षमतासँग मिल्ने खालको रहेको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर एवं म्याग्दीका लोकगायक अमित विश्वकर्माले बताए ।
जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा बाँसुरी बजाएर पहिचान बनाउँदै गरेका बानियाँको प्रतिभालाई मर्न नदिन उनलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग र अवसरको वातावरण मिलाइदिनु आवश्यक देखिएको छ ।