प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजकका लागि झण्डै २४ हजारको आवेदन परेको छ । दरखास्त दिने अन्तिम म्याद शुक्रबारसम्म २३ हजार ९ सय ६८ जनाको आवदेन परेको हो । प्रदेश १ बाट ३ हजार ६ सय ६५, प्रदेश २ बाट ३ हजार ६ सय ७१, प्रदेश ३ बाट ४ हजार ९ सय ९४, गण्डकी प्रदेशबाट १ हजार ९ सय ५५, प्रदेश ५ बाट २ हजार ३०१, कर्णाली प्रदेशबाट ३ हजार ३ सय ७८ र सुदूरपश्चिम प्रदेशबाट ४ हजार ४ जनाको आवेदन परेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्राप्त कूल आवेदनमध्ये ५ हजार ८ सय ५ जना आवेदकले आफ्नो इमेलमा गई आवेदन भेरिफाई नगरेको पाइएको छ । तोकिएको समय सीमाभित्र आवदेन दिएका तर भेरिफाई नगरेका आवेदकहरुलाई शनिबार राती १२. बजेसम्म भेरिफाई गर्न सक्ने व्यवस्था गरिएको थियो । भेरिफाई नभएका आवेदकहरुको सूची वेभसाइटमा समेत प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ । साथै सम्बन्धित आवेदकको मोबाइल नम्बर तथा इमेल ठेगानामा समेत सोको जानकारी पठाई सकिएको पनि मन्त्रालयको भनाइ छ ।
प्राप्त दरखास्तहरुको तोकिएका मापदण्डहरुका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद सङ्ख्याको तीनगुणा बराबर आवेदकहरुको योग्यताक्रमको प्रारम्भिक सूची आजका मितिले १० दिनभित्र तयार गरी कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np मा सूचना सार्वजनिक गरिनेछ । यसको जानकारी योग्यता क्रमको प्रारम्भिक सूचीमा पर्ने उम्मेदवारहरुको मोबाइल नम्बरमा समेत पठाइनेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि प्रत्येक स्थानीय तह अन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा कर्मचारी नियुक्त गर्न सरकारले दुई हप्ताको समय दिएर आवेदन माग गरेको थियो । १० हजारभन्दा कम जनसङ्ख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्र अङ्कित प्रथम श्रेणी (नासु सरह)को र १० हजारभन्दा बढी जनसङ्ख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी सिर्जना गरिएको छ ।