पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थानमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा सेवा लिनेको घुइँचो लागेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको समन्वयमा आयोजित शिविरमा सेवाग्राहीको भीड लागेको हो ।
देवीस्थानको भीम माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको शिविरमा सदरमुकाम बेनीबाट सेवाप्रवाह गरिरहेका सरकारी कार्यालय तथा गाउँपालिकाबाट उपलब्ध हुने सेवासुविधाहरु उपलब्ध गराइएको वडा अध्यक्ष पिपला बुढाले बताइन् ।
शिविरको उद्घाटनसत्रमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी गलेश्वर युनिटका प्रमुख अनिल कार्कीलगायत गाउँपालिकाका कर्मचारीको उपस्थिति रहेको थियो । शिविरमा नागरिकता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य परीक्षणमा भीड थियो ।
ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवासुविधा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविरको आयोजना गरिएको प्रजिअ अधिकारीले बताए । उनले जिल्लाका विभिन्न स्थानीय तहसँग सहकार्य गरी शिविर सञ्चालन गरिएको बताए । गाउँपालिकाका अध्यक्ष रोकाले गाउँपालिका भित्रका जनतालाई केन्द्रबाहेक गाउँमै पुगेर समेत सेवासुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् ।
सरकारी सेवासुविधा एकै ठाउँबाट लिन पाउँदा नागरिकहरुमा समय र खर्चको समेत बचत भएको सेवाग्राहीले बताएका थिए । शिविरमा सहायक प्रजिअ लीलादेवी आर्यालको नेतृत्वमा रहेको सरकारी टोलीले सेवाग्राहीलाई सेवा दिएको थियो । देविस्थान भित्रका सबै बस्तीबाट शनिबार बिहानै सेवा लिन आएका थिए । नयाँ संविधान र संघीयताको कार्यान्वयनसगै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभूति दिलाउन घुम्ती शिविरले रचनात्मक सहयोग पु¥याएको गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।
आर्थिक अभाव, भौगोलिक विकटता तथा सडक सञ्जाल ग्रामीण क्षेत्रसम्म पुगेपनि स्थानीयले राज्यबाट प्राप्त हुने सेवासुविधा लिन सदरमुकाम बेनीसम्म आउन समस्या रहेको थियो ।
Previous Articleपुरस्कार वितरण तथा हिज्जे प्रतियोगिता
Next Article रोजगार संयोजकका लागि २४ हजारको आवेदन