म्याग्दीको सदरमुकाम बेनीबजारस्थित रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार दोस्रो चौमासिक परीक्षाको पुरस्कार वितरण कार्यक्रम तथा हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
गत पौषको अन्तिम साता सञ्चालन गरिएको परीक्षामा बाल कक्षादेखि कक्षा ९ सम्मका कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणबहादुर कार्की, अभिभावक तथा धवलागिरी मावि सिङ्गा स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद रेग्मीको उपस्थितिमा पुरस्कार वितरण गरिएको हो ।
शुक्रबार नै विद्यालयको वार्षिक कार्यपात्रो अनुसार सदनस्तरीय हिज्जे प्रतियोगिता पनि सम्पन्न भएको छ । विद्यालयमा रहेको चारवटा सदनबाट प्रति सदन २ समूहका दरले आठ समूह सहभागी भएका थिए । हिज्जे प्रतियोगितामा रातो सदन ‘ए’ प्रथम, रातो सदन ‘बि’ द्वितीय र निलो सदन ‘बि’ तृतीय भएको विद्यालयले जनाएको छ । दोस्रो चौमासिक परीक्षा तथा हिज्जे प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कारस्वरुप स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक दिपक श्रेष्ठ तथा अभिभावक एवं स्रोतव्यक्ति रेग्मीले बधाई मन्तव्य राखेका थिए । कार्यक्रम विव्यस अध्यक्ष कार्कीको अध्यक्षता, सहायक प्रअ काशिराम रेग्मीको स्वागत तथा शिक्षक टिकानाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।