हरिकृष्ण गौतम
पुन्य कमाउन मानिसले देवीदेवताको पूजाआजासँगै महायज्ञमा आफ्नो शरीरकै तौल बराबरको रकम समेत दान गर्छन् । मृत्युपश्चात् कलेजो, मुटु, फोक्सो, मृर्गौलालगायत मानव शरीरका महत्वपूर्ण अङ्गदान दिइन्छ, जसलाई महादान समेत भनिन्छ ।
तर, म्याग्दीका एक व्यक्तिले अस्पतालको शैयामा मृत्युसँग संघर्ष गरिरहेकी ९ महिनाकी बालिकालाई कलेजो दिएर महादान गरेका छन् । कलेजोमा खराबी देखिएपछि भारतमा उपचार गराइरहेकी अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलकी सियाना रन्तिजालाई बेनी नगरपालिका–८, शिक्षामार्गका चन्द्रकुमार केसीले आफ्नो कलेजो दान गरेका छन् । कलेजोदाता म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष हुन् ।
जन्मिएको ५ महिनामा सिकिस्त बिरामी भएपछि उपचारको क्रममा चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपछि भारतमा उपचार गराइरहेकी रन्तिजाको शरीरमा भारतको डिल्लीस्ीित सर गंगाराम अस्पतालमा करिब १८ घण्टा लामो शल्यक्रिया गरेर सफल प्रत्यारोपण गरिएको हो । केसीको शरीरबाट ३० प्रतिशत कलेजो निकालेर शुक्रबार सियानालाई प्रत्यारोपण गरिएको थियो । जीवितै अवस्थामा रहेका व्यक्तिहरुले अङ्गदानका लागि नेपाल र भारतमा आवश्यक पर्ने कानुनी प्रक्रिया पुरा गरी प्रत्यारोपण गरिएको शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए । सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको छ भने दुवैजना चिकित्सकको निगरानीमा रहेको उनले बताए ।
बालिकाका आमाबुबाको कलेजो म्याच नभएपछि कोषले कलेजोदाताको व्यवस्था गरेको थियो । झण्डै दुई महिनाको चेकजाँच तथा कानुनी प्रक्रिया पुरा गरेपछि विशेषज्ञ डा. निमेश र डा. बिशालको नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको थियो । कोषमार्फत उपचारमा करिब तीनलाख रुपैयाँ सहयोग भएको छ ।
‘हाम्रो परिवारमा मानवरुपी भगवानको आगमन भएको छ, मृत्युलाई कुरेर बसेकी छोरीले नयाँ जीवन पाएकी छिन्’ सियानाकी आमा रेश्माले भनिन् । शरीर सुन्नियो, पेट निकै ठूलो भएपछि उपचारको क्रममा कलेजोमा समस्या देखिएपछि स्वदेश तथा विदेशमा करिब ३० लाख सहयोग समेत जुटेको थियो । श्रीमान र आफ्नो कलेजो म्याच नभएपछि महङ्गो खर्च गरेर भए पनि डोनरको खोजी भैरहेको अवस्थामा आफ्नै खर्चमा प्रत्यारोपणका लागि कोषले सहयोग गरेको उनले बताइन् । प्रत्यारोपणपछि परिवारमा खुसी छाएको हुँदा छोरीले कोखबाट फेरी जन्म लिएजस्तै भएको रेश्माको भनाइ छ । कलेजो प्रत्यारोपणपछि डोनर ३ दिन आइसीयुमा र ११ दिन अस्पतालमा बसेर डिस्र्चाज हुने छन्भने सियाना ३० दिन अस्पतालमै चिकित्सकको उच्च निगरानीमा राखिने जनाइएको छ ।
एउटा परोपकारी संस्थामा लाग्दा मैले यो दान गर्ने अवसर पाएको बताउँदै सहयोग जुटाएरै विपन्नको उपचार गर्न सकिन्छ भन्ने सन्देशपछिको यो अर्को ठूलो प्रयास भएको सहयोगदाता केसीले बताए । लायन्स क्लबसहित दर्जनभन्दा धेरै सामाजिक संघसंस्थामा आबद्ध केसीले कलेजो प्रत्यारोपणका लागि डेढ महिनाको अवधिमा १२ केजी तौल समेत घटाएका थिए । यता जिल्लामै पहिलोपटक जीवित अवस्थामै आफ्नो कलेजोले बालिकालाई नयाँ जीवन दिएका केसीलाई सामाजिक सञ्जालबाटै बधाई तथा धन्यवादको ओइरो लागेको छ ।
Previous Articleनिर्माण व्यवसायीको अध्यक्षमा पुनः नारायण जि.सी.
Next Article पुरस्कार वितरण तथा हिज्जे प्रतियोगिता