म्याग्दी, ११ कार्तिक/उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट यसवर्ष म्याग्दीका तीनजना कृषकहरु पुरस्कृत भएका छन् । ‘भैरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने नारासहित बुधबार ३६औं विश्व खाद्य दिवस तथा पुरस्कार वितरण समारोहमा कृषकलाई पुरस्कृत गरिएको हो । राष्ट्रपति कृषक पुरस्कार–२०७३ बाट सुन्तला खेतीतर्फ जिल्लाको बराङ्जा–१ का प्रेम गिरी, मौरीपालनतर्फ कुहुँ–३ का गोविन्द खत्री र तरकारी खेतीतर्फ बेनी नगरपालिका–१ रत्नेचौरका निरबहादुर थापालाई सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश रामप्रसाद शर्मा, स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल र वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले अबिर लगाई क्रमशः नगद १०÷१० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरी पुरस्कृत गरेका थिए । यसैगरी विश्व खाद्य दिवसको अवसरमा ‘भैरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ शीर्षकमा आधारित रहेर कृषि विकास कार्यालयले माविस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । जिल्ला शिक्षा कार्यालयको संयोजनमा सम्पन्न प्रतियोगितामा लिटिल गार्डेन एकेडेमीका सुद्धिप्ता पौडेल प्रथम, बेनी सामुदायिक माविका सफल सुवेदी द्वितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय माविका रिना तिलिजा तृतीय र प्रकाश माविका सुर्य थापा सान्त्वना भएका छन् । उनीहरुलाई नगद २ हजार, एकहजार पाँचसय, एकहजार र आठसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला न्यायाधीश रामप्रसाद शर्माले किसानहरुलाई सहज रुपमा कृषि कर्जा उपलब्ध गराउन सबैले आ–आफ्नो ठाउँमा सहयोग गर्नुपर्ने बताए । उनले कृषि उपज उत्पादन र उत्पादित खाद्यको सुरक्षामा विशेष ध्यान पु¥याउनुपर्ने भन्दै व्यावसायिक रुपमा उत्पादन गरिएका कृषि उपजबाट किसानले वास्तविक मूनाफा पाउनुपर्ने बताएका थिए । स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले पछिल्लो समय खाद्यबालीमा रोग तथा किराको प्रकोप बढ्दै जान थालेको हुँदा यसको निराकरण गर्न आवश्यक पहल गर्नुपर्ने बताए । पुरस्कृत कृषकहरुले सरकारले किसानका लागि सस्तो व्याजदरमा कृषि कर्जाको व्यवस्था गरेपनि आफुहरुले भने सहकारी र निजी बैङ्कबाट महङ्गो व्याजमा ऋण लिएर व्यवसाय गर्नुपर्ने बाध्यता रहेकाले सुलभ रुपमा सहज कर्जा उपलब्ध गराउन माग गरेका छन् । कार्यक्रममा निबन्ध लेखनमा प्रथम स्थान हासिल गर्न सफल सुद्धिप्ता पौडेलले आफ्नो निबन्ध प्रस्तुत गरेकी थिइन् भने सम्मानित कृषक प्रेम गिरी, गोविन्द खत्री र निरबहादुर थापाले मन्तव्य राखेका थिए । कार्यक्रम एलडिओ पौडेलको अध्यक्षता, वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालको स्वागत र वागवानी विकास अधिकृत भोजबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।