बागलुङ, ११ कार्तिक/२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले भत्काएको विद्यालय पुनर्निमाण गर्ने उद्देश्यले विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले संचालन गरेको महायज्ञबाट ४ करोड ९२ लाख ५१ हजार ८ सय ७० संकलन भएको छ । उक्त कुराको जानकारी महायज्ञका महासचिव डिल्लीराज गौतमले दिए । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यका अनुसार, बुधबार भने २१ लाख ५५ हजार ८ सय ४३ संकलन भएको छ । यसमध्ये १८ लाख ७६ हजार ९ सय ४१ नगद र वाक्दान अन्तर्गत २ लाख ७८ हजार ९ सय २ संकलन भएको छ । दानपात्रबाट ७९ हजार ६ सय ४६ संकलन भएको छ । महायज्ञमा मूलवाचक गोविन्दशरण र मीरादेवीले सप्ताहव्यापी प्रवचन दिएका थिए । समापन अवसरमा प्रमुख अतिथि ओमकार प्रसाद गौचनले आफ्ना पिता ओम प्रसाद गौचन र अर्का स्थापक मेघबहादुर वैद्यले त्यतिबेला निकै संघर्षका बीचमा विद्यामन्दिर स्कुल स्थापना गर्न गरेको स्मरण गर्दै विद्यालयले अबका दिन आधुनिक र गुणस्तरीय शिक्षा दिनुपर्ने बताए । महायज्ञको समापन समारोहमा बोल्ने अधिकांश वक्ताहरुले अब विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिई स्कुल नमूना बन्नुपर्ने बताए । समापन समारोहमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, समाजसेवी, दानदाता लगायतको उपस्थिति रहेको विद्यालयले जनाएको छ । महायज्ञ अन्तर्गत सप्ताहव्यापी योग शिविरको पनि बुधबार समापन गरिएको छ । सात दिन सम्म संचालित शिविरको बुधबार बिहान एक समारोहका बिच समापन गरिएको हो । योग शिविरको सुर्खेत जिल्लाका योग गुरु तिलक आचार्यले सहजिकरण गरेका थिए । उनले मन मस्तिष्कलाई सदैव स्वच्छ र स्वस्थ राख्नका लागि निरन्तर योग साधना आवश्यक रहेको बताएका थिए । महायज्ञ अन्तर्गतका पुर्नमिलन कार्यक्रम, शालिग्राम दर्शन, भजन कीर्तिन, झाँकी प्रर्दशन लगायतका कार्यक्रम पनि बुधबार सम्पन्न भएका भए ।
Previous Article‘भारतको विरोध गरेर राष्ट्रवादी बनिदैन’
Next Article ११ कार्तिक २०७३, ढोरपाटन दैनिक