बागलुङ, ११ कार्तिक/नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य हितमान शाक्यले नेपालको संबिधानप्रति भारतलाई सकारात्मक बनाउनुपर्ने बताएका छन् । नेकपा माओबादी केन्द्र बागलुङले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै शाक्यले निरन्तर भारतको बिरोध गरेर मात्र राष्ट्रबादी बन्न नसकिने बताए । विगतमा भारतले लगाएको नाकाबन्दीको बिरोध सबै दल मिलेर गरेको स्मरण गर्दै शाक्यले एमाले अध्यक्ष केपी ओली राष्ट्रबादी बन्न खोज्नु हास्यास्पद भएको बताए । उनले राष्ट्रबादी हुँ भन्नेले मुलुकलाई निकास दिन सक्नुपर्ने दाबी गरे । शाक्यले कांग्रेस र माओबादीलाई जुधाएर आफु एकलौटी ढंगबाट अगाडी बढ्न खोजेकोले एमालेसंग सहकार्य तोडेको बताए । विगतको जनयुद्धमा माओबादी र कांग्रेसमाथि बिशेष मुद्दा लागेको चर्चा गर्दै नेता शाक्यले एमालेले राष्ट्रबादको नाममा जेल हाल्ने षडयन्त्र गरेपछि कांगेससंग मिलेर सरकार बनाएको जिकिर गरे । पार्टीको प्रशंग कोट्याउदै माओबादी नेता शाक्यले जनतासंग जोडिएका कुरालाई प्राथमिकता दिएर अगाडी बढ्ने धारणा ब्यक्त गरे । ‘राजनीतिमा अहिले माओबादी संक्रमणको अवस्थामा रहेको छ’ नेता शाक्यले भने, ‘अब नयाँ ढंगले क्रान्तिको कार्यदिशामा अगाडी बढ्ने छौ ।’ उनले मधेसका समस्या समाधान गरेर मात्र स्थानिय निकायको निर्वाचनमा जानुपर्ने बताए । सो अवसरमा राष्ट्रिय उद्योग ब्यापार सघंका केन्द्रिय उपाध्यक्ष श्याम श्रेष्ठले अब माओबादीहरु उत्पादनसंग जोडिएर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रमको संचालन नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज चन्द्रबहादुर बुढा सागरले गरेका थिए ।
Previous Articleअब अख्तियार सामूहिक निर्णयबाट चल्ने
Next Article विद्यालय बनाउन ५ करोड संकलन