स्पेनिस क्लब बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा कसलाई ल्याउँछ भन्ने बहस चर्किरहेका बेला केभिन प्रिन्स बोएटेङलाई भित्र्याएर फुटबल समर्थकलाई चकित पारेको छ ।
सिजनको बाँकी समयका लागि लोनमा ल्याइएका भए पनि ३१ वर्षका स्ट्राइकर बोएटेङलाई ल्याएको खबरले फुटबल बजार तातेको छ । उनका लागि झण्डै मिलियन युरो तिरेर सिजनको अन्त्यमा पूर्ण रुपमा अनुबन्धित गर्नसक्ने अवसर पनि बार्सिलोनासँग छ ।
बार्सिलोनामा स्ट्राइकर लुइस स्वारेजको स्थानमा साथ दिने खेलाडीको खोजी भएकाले अट्याकिङ मिडफिल्डरका रुपमा चिनिएका बोएटेङलाई ल्याइएको हो । यसअघि उनी इटालियन क्लब सासुओलोमा थिए ।
अल्भारो मोराटा, डे जोङ, कार्लोस भेला, क्रिष्टियन स्टुआनीलगायत केही खेलाडीको नाम आइरहँदा बोएटेङ क्लबमा आएका हुन् । उनले बार्सिलोनामा आएसँगै आफ्नो एउटा सपना पूरा भएको प्रतिक्रिया दिएका छन् ।
‘एउटा ठूलो सपना पूरा भएको क्षण हो । बार्सिलोनामा हुन पाउनु मेरा लागि ठूलो सम्मानको कुरा हो’ उनले भनेका छन् ।
बार्सिलोना बोएटेङको सिनियर फुटबल करिअरमा दशौँ क्बल हो । जर्मन फुटबल क्लब हर्थ बीएससीबाट २००७ मा टोटनह्याम गएका उनी एक वर्ष लोनमा ब्रोरुसिया डर्टमुण्डमा पनि रहे । २००९ मा इंग्लिस क्लब पोट्समाउथ गएका बोएटेङ २०१० मा एसी मिलान गएका थिए । त्यसपछि साल्क, पुनः एसी मिलान, लास प्लाल्मस, इन्ट्राच्ट फ्याङफर्ट हुँदै सासुओलोबाट बार्सिलोना आएका हुन् ।
जर्मनीमै जन्मिएर २००४ देखि जर्मनीका लागि उमेर समूहमा यु १९, यु २०, यु २१ खेलेका बोएटेङ २०१० मा घानाको राष्ट्रिय टिमबाट खेल्न गएका थिए । त्यहाँदेखि नै घानाका राष्ट्रिय टिममा रहेका बोएटेङका भाइ जेरोमि बोएटेङ जर्मनीकै राष्ट्रिय टिमबाट खेल्छन् ।
पाको अल्कासर र मुनिर एल हदादी जस्ता खेलाडी बेचेको बार्सिलोनामा बोएटेङले आफूलाई प्रमाणित गर्न सके सिजनको अन्त्यपछि पनि बार्सिलोनामा नै स्थान बनाउन सक्नेछन् ।
३१ वर्षका आर्टुरो भिडाल ल्याउँदा आलोचना ब्यहोरेको बार्सिलोनाले फेरि उति नै उमेरका बोएटेङलाई ल्याएको हो । भिडालले जस्तै बोएटेङले पनि क्लबमा आफूलाई प्रमाणित गर्ने विश्वास प्रशिक्षक एर्नेस्टो भालभर्देले लिएका छन् ।
‘उनले बार्सिलोनाको तरिकामा खेल्न धेरै समय लिँदैनन् । अहिले नै टिममा मिसाएर खेलाउन तयार खेलाडी हुन् उनी’ भालभर्देले भनेका छन्, ‘उनी धेरै पोजिसनमा खेल्न सक्छन्, मिडफिल्ड, सेन्टर स्ट्राइकर, स्ट्राइकर अझ त्यसभन्दा अघि पनि ।’