गाउँगाउँमा हुने विकास निर्माणको कार्यमा उपकरण धनीहरुले मनपरी रुपमा भाडा लिन थालेपछि त्यसलाई रोक्न स्थानीय तहले सक्रियता जनाएका छन् । सरकारी बजेटको सहयोगमा निर्माण गरिने भौतिक पूर्वाधारमा उनीहरुले आवश्यकता भन्दाबढी भाडा असुलेपछि पछिल्लोपटक म्याग्दीका स्थानीय तहले उपकरणको भाडा तोकेका हुन् ।
केही दिन पहिले पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाले हेभी इक्वीपमेन्ट प्रयोग गरेवापतको भाडादर कायम गरेको थियो । यसैक्रममा उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले पनि विकास निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको जनाएको छ । मौवाफाँटस्थित गाउँपालिकाको कार्यालयमा सोमबार गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग हुने मेसिनको अधिकतम भाडादर कायम गरेको हो ।
चालु आर्थिक वर्षमा गाउँपालिकामार्फत सञ्चालन हुने योजनाहरुमा डोजरको प्रतिघण्टा पाँचहजार पाँचसय, टायरवाला जेसिभि मेसिनको अधिकतम दुई हजार दुई सय, ब्रेकरको प्रतिघण्टा थप एक हजार दुई सय र व्याकलोडरको प्रतिघण्टा दुई हजार पाँचसय अधिकतम दररेट निर्धारण गरिएको गाउँ कार्यपालिकाका प्रवक्ता एवं वडानम्बर ३ का वडा अध्यक्ष जीवनकुमार मल्लले जानकारी दिए ।
निर्माण उपकरणको प्रयोगलाई व्यवस्थित, पारदर्शी र एकरुपता कायम गर्नका लागि भाडादर निर्धारण गरिएको बताइएको छ । कार्यपालिका बैठकले वडास्तरीय अनुगमन समिति र गाउँपालिकास्तरीय अनुगमन समितिको सिफारिसमा मात्रै योजनाको अन्तिम भुक्तानी दिन निर्णय गरेको छ भने हरेक वडामा मेलमिलाप केन्द्र स्थापना र केन्द्र संयोजक चयन समेत गरिएको प्रवक्ता मल्लले बताएका छन् ।
यसैगरी गाउँपालिकाभित्र सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको अध्ययन गरी पहिचान र अतिक्रमण हटाउनका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको संयोजकत्वमा सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समिति गठन गरिएको छ । बैठकले गाउँपालिका अध्यक्ष भण्डारी संयोजक र स्रोतव्यक्ति बालकृष्ण उपाध्याय सदस्य सचिव रहेको शिक्षा समिति समेत गठन गरेको छ । वैठकले शिक्षा नियमावली बनाउने र गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि चारलाख बजेट विनियोजन गरेको बताएको छ । गाउँपालिकाभित्र रहेका ३५ वटा बालविकास केन्द्रलाई १० हजार रुपैयाँका दरले शैक्षिक सामाग्री खरिद गरी उपलब्ध गराउने तथा स्रोतकेन्द्र सुदृढीकरणको लागि ६४ हजार बजेट विनियोजन गरिएको छ ।
त्यस्तै जडिबुटी व्यवसायलाई करको दायरामा ल्याउने र कर सङ्कलन गर्न वडालाई सङ्कलित करमध्ये २५ प्रतिशत सम्बन्धित वडाको विकास निर्माण कार्यमा खर्च गरिने निर्णय पनि भएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कार्यालय सहयोगी डोल (गोपी) बहादुर भण्डारीलाई नगद १५ हजारसहित सम्मान गर्ने निर्णय गरेको प्रवक्ता मल्लको भनाइ छ ।
गाउँपालिकाले गलेश्वर–पिप्ले–मौवाफाँट सडकखण्डमा अत्यधिक धुलोको कारण वातावरण प्रदुषण बढेको भन्दै राहुघाट जलविद्युत आयोजनाको ठेकेदार कम्पनीलाई नियमित रुपमा पानीले भिजाउने प्रबन्ध गर्नको लागि जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ ।
Previous Articleबेनी बोर्डिङ कप प्रतियोगिता सुरु
Next Article राप्रपाको हिन्दु जागरण अभियान