गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । ‘नेपाली संस्कृतिको संरक्षण गर्दै, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सोमबारदेखि म्याग्दीको बेनीमा सुरु भएको माघेसङ्क्रान्ति मेला–२०७५ को उद्घाटन गर्दै उनले राज्यले उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बताएकी हुन् ।
उनले आवश्यकताको आधारमा तालिम सञ्चालन गर्नुपर्ने बताउँदै महिला उद्यमीलाई तीनै तहका सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । उनले उत्पादित सामानको माया गर्नुपर्ने भन्दै आयातलाई प्रतिस्थापन गरेर राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताएकी छिन् । उत्पादन गरिएका चिजहरुको विविधिकरण गर्नुपर्ने बताउँदै उनले उत्पादनहरुको बजारीकरणमा स्थानीय तह र प्रदेश सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
सामाजिक विकास मन्त्री पुनले गण्डकी प्रदेश सरकारले बेरोजगारका लागि सिपमूलक तालिम उपलब्ध गराउनका लागि कार्यक्रम अगाडि बढाएको जानकारी दिँदै गरिब तथा विपन्नका लागि सहुलियतदरमा ऋणको समेत व्यवस्था गरिने बताइन् । उनले गण्डकी प्रदेशमा सन् २०२२ सम्मा ५ लाख पर्यटकहरु भिœयाउनका लागि प्रदेश सरकारले योजना अघि सारेको बताउँदै पर्यटक व्यवस्थापनका लागि आन्तरिक तयारी गर्नुपर्ने बताइन् । सामाजिक विकास मन्त्रालयको तर्फदेखि म्याग्दीको बेनी–दरबाङ सडकको कालोपत्रे गर्न ३५ करोडको टेन्डर आह्वान गरिएको बताउँदै मन्त्री पुनले ‘एक स्थानीय तह, एक उद्योग ग्राम’ स्थापना गर्न प्रदेश सरकार लागिपरेको बताइन् । प्रदेशभित्र रहेका जडिबुटीहरुको उत्खनन् गरी प्रशोधन गरिने उनको भनाइ छ ।
पूर्व सांसद रेशमबहादुर बानियाँले महिलाहरु आर्थिक, सामाजिक क्षेत्र हुँदै राजनीतिमा सक्रिय भएर लाग्नुपर्ने बताउँदै आफ्नो क्षमताको विकास गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का युवा नेता राजकुमार थापा र नेपाली कांग्रेसका जिल्ला सचिव क्या. मिनबहादुर कार्कीले महिलाहरु उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा आबद्ध भएर आत्मनिर्भरतर्फ लाग्नुपर्ने बताउँदै स्थानीय उत्पादनको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्ने बताएका थिए । जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको ग्रामीण भेगमा उत्पादन भैरहेका सामानको बजारीकरण गरी व्यवसायमूलक र उद्यमसिलतातर्फउन्मुख हुनुपर्ने बताए ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, महिला उद्यम विकास समिति बागलुङका सभापति भगवती केसी, मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालु, लायन्स क्लब अफ बेनी–महारानीका अध्यक्ष हिरादेवी उपाध्याय, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा, क्षत्री समाज म्याग्दीका अध्यक्ष विरबहादुर थापा र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले मन्तव्य राखेका थिए ।
महिला उद्यम विकास समितिका सभापति सुनिता केसीको अध्यक्षता तथा स्वागत, प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी कार्कीको सञ्चालन र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको धन्यवाद मन्तव्यमा समापन कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
Previous Articleपर्यटनको विकास गर्न भकिम्लीमा मेला
Next Article मगर विद्यार्थी संघको संगठन विस्तार