काठमाडौँ, १० कात्तिक – आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले देशका छ हजार २१० स्थानमा मतदाता नामावली सङ्कलन विशेष अभियान सुरु गर्ने भएको छ ।
नयाँ निर्वाचनका लागि वालिग भएका कोही पनि मतदाता नछुटून भनेर आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न १२ हजार सुरक्षाकर्मीसहित ३७ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ ।
असोज मसान्तसम्म १८ वर्ष उमेर पुगेका मतदाताको नामावाली अद्यावधिक गर्न देशव्यापी रूपमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने विशेष अभियान यही कात्तिक २६ गतेबाट सुरु हुने भएको छ ।
मतदाता नामावली सङ्कलनका लागि पहिलो चरणमा हिमाली क्षेत्रका १६ जिल्लाका सहित दुर्गम पहाडी जिल्लासहित २२ जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिनेछ । त्यसलगत्तै बाँकी ५३ जिल्लामा पनि यो अभियान सञ्चालन गरिनेछ ।
सोही प्रयोजनका लागि आयोगले मङ्गलबारबाट केन्द्रीय स्तरको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण पूर्वको इटहरी, मध्य क्षेत्रको ललितपुर र पश्चिम क्षेत्रका लागि नेपालगन्जमा सञ्चालन भइरहेको छ र त्यसमा ७५ जिल्लाका जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिइएको छ ।
प्रशिक्षणका लागि इटहरीमा रहनुभएका निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले भने , “नयाँ संवैधानिक व्यवस्था अनुसार आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने हुन्छ, त्यसमा स्थानीय तहको निर्वाचनको तयारीस्वरूप आयोगले देशव्यापी रूपमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न लागेको हो । ”
आयोगका सहसचिव नवराज ढकालका अनुसार संविधानसभा सदस्य निर्वाचनका लागि २०७० सालसम्मको मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्य भएको थियो । त्यसपछि पनि मतदाता नामावली सङ्कलन गर्ने काम भए तर अद्यावधिक गर्ने कार्य भएको थिएन । आसन्न निर्वाचनका लागि अद्यावधिक गरिनु जरुरी छ ।
स्थानीय तहको निर्वाचनका लागि २१० स्थानबाट मतदाता नामावली सङ्कलन विशेष अभियान सुरु
Previous Articleकारबाही नटुंगिदै राजीनामा दिएछन् लोकमानले
Next Article मनाङ सजिलै सेमिफाइनलमा