काठमाडौं, १० कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आठ वर्षअघि आफूमाथि कारबाही नटुंगिदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा दिएको भेटिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निकट उच्च स्रोतबाट प्राप्त कागजातअनुसार सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया जारी राखेको र त्यसक्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार गरेकै आवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा दिएका हुन् ।
उनको उक्त राजीनामा २०६५ असोज ४ मा स्वीकृत भएको थियो । भूकम्पका कारण हराएको भनि सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चले कारबाहीको चेतावनी दिएपछि उक्त फाइल भेट्टाएको हो ।
जनआन्दोलनको दौरान दमन र मानवअधिकार उलंघनका घटनामा दोषी ठहरी गरी रायमाझी आयोगले कार्कीलाई कारबाहीको सिफारिसस हित प्रतिवेदन तयार पारेको थियो । सोहि प्रतिवेदन कार्यान्वयनको सिलसिलामा सामान्य प्रशासन मन्त्रालयले २०६३ चैत ११ गते कार्कीलाई पत्र काटेको थियो । कान्तिपुर दैनिक