कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति‚गुण‚दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर मानिने छैन । यो व्यवस्था पनि मानिसको दिमागी हालत अचेत रहेको अवस्थामा कुनै कार्य गरेमा क्षम्य हुने दृष्टिकोणबाट बनौट भएको देखिन्छ । मानिसको दिमागको त्यस्तो अवस्था जसमा उसले आफूले गरेको कामको प्रकृति र गुण वा दोष वा परिणाम थाहा पाउदैन‚त्यस्तो अवस्थामा गरेको कामलाई क्षम्य मानिएको छ । यहाँ त्यो मानिसको दिमागले के काम उचित वा अनुचित हो भन्ने भन्दा पनि उसको दिमागले के कुराले उसको दिमागलाई आनन्द प्राप्त गर्ने धयेय राख्छ‚सोही काम गर्ने भएकोले यस्तो मानिसको दिमागी आनन्द अनुसार मानिसले काम गर्ने हो । यो पागलपनमा रहेको मानिसले आफूले गरेको काम कानूनले वर्जित हो वा कानून सम्मत हो भन्ने ख्याल राखेर गर्ने हुदैन । यसमा उसको कामबाट नै उसको मानसिक विक्षिप्तता यकिन गरिन्छ । यद्यपी यो मानसिक विक्षीप्तता भन्ने कुरा मापन गर्ने कुनै सिद्धन्त र प्रविधि हालसम्म विकास भएको पाइदैन । विक्षीप्ततामा परेको मानिसले गर्ने प्रत्येक कामबाट नै यसलाई कुन हदको मानसिक विक्षिप्तता हो भन्ने चिकित्सकले यकिन गरी राय दिने गरिएको पाइन्छ । तथापी यी राय भनेका मानिसले काम गरी सकेपछि दिइने भएकोले काम गर्दाको अवस्थामा यसको अनुपात के कति थियो भन्ने यकिन भने हुन सक्दैन । यसैले अदालतले पहिला देखि नै यो विक्षिप्तताको यकिन भएमा मात्र क्षम्य मान्ने गरेको फैसलाहरुबाट देखिन आउछ ।
अर्को तर्फ मानसिक विक्षिप्तताको कारण हुन गएको अपराधको निदान गर्ने कुरा ज्यादै उच्चस्तरको प्राविधिक चिकित्सकिय र सामाजिक समास्या हो‚जसमा कानून व्यवसायी कम उपयुक्त व्यक्ति हो भन्ने प्रश्न उठ्न थालेको पाइन्छ । यो प्रसङ्ग उक्त हिरालाल मल्लिकको मुद्दामा भारतीय अदालतले बालबालिकाको विषयमा उठेका समस्याहरुको निदान गर्ने वा मुद्दाको निष्कर्ष दिने विषयमा नै उठाएको पाइन्छ । कानूनका व्यक्तिलाई यो विषयको निदान गर्ने अधिकार दिदा कत्तिको उपयुक्त होला भन्ने सन्दर्भलाई लिएर अदालतले यसमा खोजविन गरेको छ । जसको अवधारणागत पक्षलाई शुरुमा पागलपनको बारेको जिम्मा दिने इतिहासलाई केलाउदै यसको उपयुक्त निदान गर्ने ब्यक्ति चिकित्सक हुन पुगेको प्रसंग उल्लेख गरिएको छ । शुरुमा पागलपनको सम्बन्धमा धामी झाँक्रीबाट हुने निदान‚चिना जान्नेको निदान तथा कपाल मुड्नेबाट हुने निदानबाट क्रमशः कानून ब्यवसायी र न्यायाधीशलाई यसबारे विगत सय वर्ष देखि समाजले विश्वास गरेको पाइन्छ । तर वर्तमानमा यो पागलपन भन्ने कुरा ज्यादै फराकिलो र जटिल चिकित्सकीय समस्यको रुपमा आएको छ । जुन कुरा असंगत र मानसिक क्षेत्रका ज्यादै फराकिलो विशेषज्ञलाई यसको जिम्मा दिइने गरिएको छ । यस्तै केही समय पछि अपराधमा संलग्न व्यक्तिको लागि पनि समाजशास्त्री र चिकित्सकीय विशेषतालाई सुम्पने अवस्थालाई नकार्न सकिन्न भनिएको छ ।
कुन काम दोष रहित हो कुन काम दोषपूर्ण हो भन्ने छुट्याउन सक्ने सामान्य समझ नभएको व्यक्तिमा अपराध गर्न चाहिने अपराधिक मनसाय सृजना गर्ने क्षमता रहदैन भन्ने मान्यतामा आधारित छ । सामान्यत आधुनिक फौजदारी कानूनमा कामको दोषपूर्ण वा गैरकानूनी प्रकृति‚गुण‚दोष वा परिणाम बुझ्न सक्ने क्षमताको अभाव मानिसमा दुई कारणबाट उत्पन्न हुनसक्ने मान्यता रहन्छ । पहिलो हो मानसिक अस्वस्थता र दोस्रो हो मादक पदार्थको नशा वा सेवन गरेको अवस्था । यसले केवल मानसिक अस्वस्थतालाई मात्र अपराधिक दायित्वबाट छुटकारा पाउने आधार बनाइएको छ । मानसिक अस्वस्थबाट पिडित सबैले यो दफाको संरक्षण प्राप्त गर्दैनन् । यो अवस्थाले गर्दा आफूले गरेको कामको दोषपूर्ण वा कामको गैरकानूनी प्रकृति‚परिणाम वा स्वरुप बुझ्न नसक्ने भए मात्र प्रस्तावित दफाले छुट दिने व्यवस्था गर्ने खालको हुँदा सो अपवाद लागू हुन्छ । यो व्यवस्था मनसायको सिद्धान्तमा आधारित छ । अर्थात मानसिक रुपमा अस्वस्थ भएको व्यक्तिमा अपराधिक मनसाय सृजना गर्ने क्षमता रहेको हुँदैन । त्यस्तो होस ठेगानामा नरहेको मानिसमा आफ्नो इच्छा नभएको मानिन्छ ।
वास्तवमा पागलपनको अवस्थाको मापन गर्ने सम्बन्धमा भने अदालतले कुनै सिद्धान्तमा आधारित भएर फैसला गरेको पाइदैन । सिद्धान्त हेर्ने हो भने पनि यो पूर्णतः मानवको दिमागसँग सम्बन्धित विषय हो । यो कति बेला ठीक र कति बेला पागलपनमा गएको हुन्छ भन्ने सन्दर्भलाई व्यक्तिले गरेका कामहरुको विवरणको निष्कर्ष स्वभाविक अपराधिक दिमागबाट गरेको हो वा दिमाग बिग्रेको वा दिमागले गरेको कामको प्रकृति परिणाम नै थाहा नपाउने गरी काम भएको हो भन्ने आधारमा यसको लेखाजोखा गर्नुपर्ने देखिन्छ । पागलपनमा रहेको अवस्थामा उसले गरेको कामको लागि दोषी बनाइयो भने अपराधी होइन । एक निर्दोष र मानसिक उपचार पाउनु पर्ने मानिसलाई कसूरदार ठहर गरिने हुन्छ । जुन कुरा उसको दिमागको होइन त्यसै कामको लागि निजलाई दोषी ठहर गरिएको मानिन्छ । अर्को अर्थमा भन्ने हो भने जुन मानिसलाई राज्यको कानून व्यवस्थाले सजाय दिनुपर्ने अवस्था नै पर्दैन । यस कोणबाट समेत अदालतले मनन गर्नुपर्ने देखिन्छ । हालको संहिताले चिकित्सङगत पागलपन र कानूनी पागलपनको रुपमा उल्लेख गर्दै भनेको छ । कुनै व्यक्ति चिकित्सङगत रुपमा पागल वा कुनै मानसिक रोगी वा बहुलाएको वा मानसिक रुपमा विक्षिप्त रहे भएको हुन सक्छ । तर प्रस्तावित दफाले दिएको छुट प्राप्त गर्न त्यति हुँदैमा पर्याप्त मानिदैन । सो व्यक्ति निजले अपराध गरेको वा घटना घटाएको समयमा आफूले गरेको कामको प्रकृति‚गुण‚दोष वा परिणाम थाहा नपाउने गरी होस ठेगानामा नरहेको हुनुपर्छ । पागल वा विक्षिप्त ब्यक्ति भएर पनि आफुले गरेको कामको प्रकृति र परिणाम थाहा पाउने अवस्थामा निज रहेको भए यस दफाले दिएको छुट प्राप्त गर्न सकिदैन् ।
लेखक अधिवक्ता हुन्